जेभियरले जित्यो हिसान सेन्ट्रल अन्तरकलेज बास्केटबलको उपाधि

काठमाडौं। जेभियर इन्टरनेसनल कलेजले बुधबार हिसान सेन्ट्रल इन्टर कलेज बास्केटबल च्याम्पियनसिप २०२५ को उपाधि जितेको छ।

त्रिपुरेश्वस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) कभर्डहलमा सम्पन्न फाइनलमा सिसिआरसीलाई जेभियरले ५६–७४ को स्कोरले पराजित गरेको हो। जेभियरलाई उपाधि दिलाउन लक्की महर्जनले सर्वाधिक २३ अंक बटुले। उनी प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी घोषित हुँदै नगद तीन हजार रुपैयाँ पाए।

उपाधिसँगै जेभियरले नगद २५ हजार तथा उपविजेता सिसिआरसीले १३ हजार रुपैयाँमा चित्त बुझायो। त्यसअघि बुधबार नै भएको पहिलो सेमिफाइनलमा ग्रिनफिल्ड इन्टरनेसनल कलेजलाई जेभियरले ७२–५३ को स्कोरमा हराउँदै फाइनल यात्रा तय गरेको थियो। सिसिआरसीले दोस्रो सेमिफाइनलमा गोल्डेन गेट इन्टरनेसनल कलेजलाई ६०–४५ को स्कोरमा पाखा लगायो।

तीन दिनसम्म सञ्चालन भएको प्रतियोगितामा काठमाडौं उपत्यकाका १६ वटा कलेजहरूको सहभागिता थियो। फाइनलमा युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरी प्रमुख अतिथि रहेका थिए। हिसानका अध्यक्ष रमेशकुमार सिलवाल, हिसान केन्द्रीय कमिटी सह–कोषाध्यक्ष तथा आयोजक कमिटीका संयोजक नरेन्द्रबहादुर अधिकारीलगायत अतिथिले पुरस्कार वितरण गरे।


तपाईको प्रतिक्रिया !!!
भर्खरै प्रकाशित
यो साता धेरै पढिएको