काठमाडौं । प्रधानमन्त्री कप पुरुष राष्ट्रिय प्रतियोगितामा सुदूरपश्चिमले एपिएफविरुद्ध १ सय ९१ रनको प्रतिस्पर्धात्मक योगफल तयार गरेको हो । सिद्धार्थ क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गरेको सुदूरपश्चिम ४८.५ ओभरमा १ सय ९१ रनमा समेटियो ।
सुदूरपश्चिमका लागि निश्चल खत्रीले ९२ बलमा ८ चौका र १ छक्कासहित ५७ रन बनाए । दोस्रो विकेटका लागि निश्चलले प्रकाश पाण्डेले ९१ रनको साझेदारी गरे । प्रकाशले ७२ बलमा ४ चौकाको सहयोगमा ४२ रन जोडे ।
सुदूरपश्चिम १ विकेट गुमाएर १ सय ९ रनको अवस्थामा विशाल योगफल तयार गर्ने अनुमान गरिएको थियो । तर, मध्यक्रमका ब्याटरहरु नचल्दा सुदूरपश्चिमले ८२ रन जोड्दा बाँकी रहेको ९ विकेट गुमायो ।
किरन ठगुन्ना १२, शेर मल्ल ११ तथा हेमन्त धामी र सुनिल चन्द समान १० रनमा आउट भए ।
एपिएफका लागि कप्तान रोहित पौडेल र अमरसिंह राउटेलाले समान ३ र भुवन कार्कीले २ विकेट लिए ।
एपिएफ ५ खेलमा ६ अंकका साथ चौथो स्थानमा छ । सुदूरपश्चिम ६ खेलमा ४ अंकका साथ सातौं स्थानमा छ ।