नवाजको शतकमा पाकिस्तान ९ विकेटले विजयी

काठमाडौँ । हसन नवाजको शतकमा पाहुना टोली पाकिस्तानले न्युजिल्यान्डसँगको तेस्रो टी–२० आईमा ९ विकेटको सहज जित हासिल गरेको छ।

न्युजिल्यान्डले दिएको २०५ रनको लक्ष्य पाकिस्तानले १६ ओभरमा १ विकेट गुमाएर पूरा गर्यो।

पाकिस्तानको जितमा नवाजले नट आउट रहँदै १०५ रन जोडे। न्युजिल्यान्डसँगको पहिलो खेलमा टी–२० आईमा डेब्यु गरेका नवाजले पहिलो शतक ४४ बलमा पूरा गरे। उनले ४५ बलको सामना गरेर १० चौका र ७ छक्का प्रहार गरे।

यस्तै, कप्तान सलमान आगाले नट आउट ५१ र मोहम्मद हरिसले ४१ रन जोडे। न्युजिल्यान्डका लागि ज्याकोब डफीले १ विकेट लिए।

त्यसअघि अकल्याण्डस्थित इडन पार्कमा टस हारेर पहिले ब्याटिङ गरेको न्युजिल्यान्ड १९.४ ओभरमा २०४ रनमा समेटिएको थियो।

न्युजिल्यान्डका लागि मार्क च्याम्पम्यानले सर्वाधिक ९४ रन जोडे भने कप्तान माईकल ब्रेसवेलले ३१ रन बनाए।

ओपनर टिम साईफर्ट १९, ड्यारियल मिचेल १७ र इश सोडी १० रनमा आउट भए।

पाकिस्तानका लागि हरिस रउफले ३, अबरार अफ्रिदी, शाहीन शाह अफ्रिदी र अब्बास अफ्रिदीले समान २ तथा सादाब खानले १ विकेट लिए। दुई देशबीचको चौथो खेल आइतबार हुनेछ।

जितसँगै ५ खेलको टी–२० आई सिरिजमा पाकिस्तान २–१ ले अग्रता बनाएको छ।


तपाईको प्रतिक्रिया !!!
भर्खरै प्रकाशित
यो साता धेरै पढिएको