काठमाडौं। पोखरा थन्डर्सले नेपाल सुपर लिग (एनएसएल) का अघिल्ला दुई संस्करणमा एफसी चितवनविरुद्ध अपराजित यात्रा कायम राखेको थियो। तर, इतिहास सधैं स्थिर रहँदैन, परिवर्तन अनिवार्य हुन्छ। यो खेलको शर्त नै हो। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सोमबार भयो पनि त्यस्तै र इतिहास उल्टियो।
एनएसएलको तेस्रो संस्करणको आफ्नो पहिलो खेलमा पोखराले चितवनलाई सहजै २–० को जित सुम्पियो। अघिल्लो दुई संस्करणमा १–० र २–१ को नतिजाले चितवनलाई हराएको पोखरा यो पटक किन यति कमजोर देखियो? प्रशिक्षक सुमन श्रेष्ठको स्पष्टीकरणमा छ, ‘हामीलाई खेलअघि नै मानसिक रूपमा डाउन बनाइयो।’
आयोजक नेपाल स्पोर्टस एन्ड इभेन्ट म्यानेजमेन्ट प्रालीले १८ दिनअघि नै सार्वजनिक गरेको खेलतालिका अनुसार यी दुईबीचको भिडन्त साँझ ६ बजे सुरु हुने तय थियो। तर, निर्धारित समयभन्दा १८ मिनेट ढिलो सुरु भएको खेल पोखराका लागि मनोवैज्ञानिक रूपमा निकै कठिन बन्यो। खेलाडीहरूले निर्धारित समयभन्दा आधा घण्टा अघिदेखि वार्मअप गरिसकेका थिए, दर्शकहरू उत्साहित थिए। तर, पोखराको ड्रेसिङ रुमभित्र अन्यौलताको बादल मडारिएको थियो।
पोखरा खेल्ने या नखेल्ने भन्ने प्रश्न नै खडा भयो। चितवनका पाँच खेलाडीहरूको वर्क परमिट लेटर खेल सुरु हुने बेलासम्म पनि उपलब्ध थिएन। पोखराको व्यवस्थापनले नियम उल्लंघन भन्दै खेल नखेल्ने अडान लिइनै रह्यो। अन्ततः खेल त भयो, तर मानसिक रूपमा अलमलिएको पोखराले मैदानमा आफ्नो लय समात्नै सकेन।
पोखराका प्रशिक्षक सुमन श्रेष्ठका अनुसार आयोजक आफैंले बनाएको नियमविपरीत चितवनलाई पाँच विदेशी खेलाडी मैदान उतार्न दिएको हो। नोडिर माभ्लोनोभ, टोरिक जेब्रिन, जोनाथन क्याम्पबेल, भिक्टर मान्साराय र गोलकिपर अमल नाइटस वर्क परमिटबिना नै मैदान उत्रिएको पोखराको दाबी छ।
‘हामीले नियम पालना गर्दै स्टेफन बिनोङलाई नखेलाउने निर्णय गर्यौं। तर, चितवनलाई नियम मिच्दै विदेशी खेलाडी उतार्न आयोजकले नै अनुमति दियो,’ सुमनले भने, ‘खेल अगाडि हाम्रो माइन्ड गेम कमजोर बनाइयो, जसले गर्दा खेलाडीहरू मेन्टली डाउन भए।’
एनएसएलका आयोजक चौधरी समूहनिकट नेपाल स्पोर्टस एन्ड इभेन्ट म्यानेजमेन्ट प्राली हो। यसका निर्देशक श्रेयन्स कार्की हुन्। यो समग्रको जड भने सुमनले उनलाई नै ठहर्याउँछन्। विवाद हुँदा हुँदै विदेशी खेलाडीलाई मैदान उतार्न दिनु र कार्की अस्वाभाविक रूपमा आफ्नो ड्रेसिङ रुममा प्रवेश गर्नुले आफ्नो खेलाडीलाई ‘मेन्टली डाउन’ भएको उनको आरोप छ।
यही विवादमा रुमल्लिएको पोखराले खेलको १४औं मिनेटमै पहिलो गोल बेहोरेको थियो। भिक्टरको पासलाई नोडिरले पेनाल्टी बक्स बाहिरबाट शक्तिशाली प्रहार गर्दै जाली चुमाए। पोखराका गोलकिपर प्रिसोले सही दिशामा डाइभ त लगाए, तर बचाउन असफल भए।
त्यसपछि चितवनले दोस्रो गोल खेल सकिन लाग्दा थप गरिएको इन्जुरी समयको छैटौं मिनेटमा गर्यो। काउन्टर अट्याकको मौका सदुपयोग गर्दै भिक्टरले दिएको बललाई नीरज चौधरीले सहजै जालीमा पुर्याए।
पोखराले अघिल्लो दुई सिजनमा चितवनलाई हराएको थियो। तर, योपल्ट खेलभन्दा बाहिरका घटनाले खेलाडीहरूको ध्यान भंग गर्यो। ‘हामीले ९० मिनेट फुटबल खेल्नुपर्ने हो। तर, माइन्ड अन्य कुरामा डाइभर्ट भयो। माइन्ड सार्फ भए पो फुटबल खेल्नु?,’ उनले भने।
मैदानमा जित–हार स्वाभाविक हो। तर, यदि नियम उल्लंघनकै कारण टिम पराजित हुन्छ भने त्यो नियति होइन, नियोजित हो। यद्यपि, पोखराका लागि यो हार आत्मविश्लेषण गर्ने राम्रो अवसर पनि हो। पहिलो खेलमा मानसिक दबाबको सिकार भएको आरोप लगाएको टोलीले अब आफ्नो दोस्रो खेल बुधबार साबिक विजेता ललितपुर सिटी एफसीविरुद्ध खेल्नेछ।
अब प्रश्न उठ्छ– के पोखरा यो हारबाट पाठ सिक्दै ललितपुरविरुद्ध बलियो पुनरागमन गर्छ त? कि फेरि नियम कानुनको विवादको छायामा कमजोर देखिन्छ? उत्तर भने मैदानमै खोजिनुपर्छ!
भिडियाे : https://youtu.be/wpmEkdZBECA?si=Y7kOgPbLOb5qkkfW


