काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) ले पहिलोपटक महिला राष्ट्रिय फुटबल टोलीका लागि प्रो–लाइसेन्स प्राप्त प्रशिक्षक नियुक्त गर्ने प्रक्रिया सुरु गरेको छ । एन्फाले सोमबार सूचना जारी गर्दै अनुभवी प्रशिक्षकका लागि आवेदन खुला गरेको हो ।
नेपालमा प्रो लाइसेन्स प्राप्त प्रशिक्षक नभएको अवस्थामा अब महिला टोलीको प्रशिक्षक पनि विदेशी हुने पक्का भएको छ ।
संघले आवेदन दिन इच्छुक प्रशिक्षकमा प्रो–लाइसेन्स हुनुका साथै वरिष्ठ महिला टोली वा राष्ट्रिय युथ टोली सम्हालेको अनुभव हुनुपर्ने उल्लेख गरेको छ । साथै कम्तीमा दुई वर्षको प्रशिक्षण अनुभव र सन्तोषजनक ट्रयाक रेकर्ड भएको व्यक्तिलाई प्राथमिकता दिइनेछ ।
यो निर्णय एएफसी महिला एसियन कप छनोट २०२६ लाई लक्ष्य गर्दै गरिएको हो । एसियाली फुटबल महासंघ (एएफसी)ले सार्वजनिक गरेको खेल तालिकाअनुसार नेपाल समूह ‘एफ’ मा परेको छ, जहाँ लाओस, उज्बेकिस्तान र श्रीलंका प्रतिद्वन्द्वी हुनेछन् । नेपालले पहिलो खेल २९ जुनमा लाओसविरुद्ध खेल्नेछ ।
समूहका सबै खेल उज्बेकिस्तानमा हुनेछ । नेपाल हाल फिफा वरियतामा ९९औँ र लाओस १०७औँ स्थानमा छ । नेपालले दोस्रो खेल श्रीलंका र अन्तिम खेल आयोजक उज्बेकिस्तानसँग खेल्ने तालिका । समूह विजेताले अस्ट्रेलियामा आयोजना हुने एसियन कपमा स्थान बनाउनेछ ।


