काठमाडौं । नेपाल बास्केटबल संघ (नेबा) ले हिमालयन जाभासँगको सहकार्यमा हिमालयन जाभा बास्केटबल लिग (एचजेबीएल) आयोजना गर्ने भएको छ।
पहिलो पटक आयोजना हुन लागेको हिमालयन जाभा बास्केटबल लिग यही बैशाख २० गतेदेखि हुने नेपाल बास्केटबल संघले बिहीबार पत्रकार सम्मेलनमार्फत जानकारी दिएको हो। प्रतियोगितामा ६ टोलीको सहभागिता रहने नेबाका अध्यक्ष भिमसिंह गुरुङले जानकारी दिए। जसमा टाइम्स क्लब, हाउण्ड्स क्लब, गोल्डेनगेट इन्टरनेसनल क्लब, रोएल्स, कीर्तिपुर बास्केटबल क्लब र सामाखुशी क्लबले प्रतिस्पर्धा गर्नेछन्।
हिमालयन जाभा बास्केटबल लिग ६ साता चल्नेछ भने खेलहरु विकेण्डमा खेलाइनेछ। जसअन्गर्त हरेक शनिवार र आइतबार खेल हुनेछ। यस्तै मौसमको अवस्था हेरेर मंगलबार र बुधबार पनि खेल खेलाउने नेबा अध्यक्ष गुरुङले जानकारी दिए। प्रतियोगिताको खेलतालिका छिटै सार्वजनिक गर्ने आयोजकले जनाएको छ।
खेल डबल राउण्ड रोविन लिगको फम्र्याटमा हुनेछ। जसमा हरेक टिमले अर्को टिमसँग दुई–दुई पटक खेल्नेछ। लिगका खेलहरु राखेपस्थित आउटडोर भलिबल कोर्टमा हुने अध्यक्ष गुरुङले जानकारी दिए।
‘होम एण्ड अवे फम्र्याटमा खेल्ने योजना भएपनि मौसमको अवस्थाले गर्दा सिंगल भेन्युमै खेलाउन लागेका हौँ। हामीले राखेपको कभर्डहल र कीर्तिपुरको कभर्डहललाई पनि विकल्पमा राखेका छौँ।’ अध्यक्ष गुरुङले भने।
प्रतियोगितामा ३० खेल हुनेछ भने त्यसपछि फाइनल खेल हुनेछ। फाइनल खेलमा दुई प्लेअफ खेल हुनेछ। बास्केटबल लिग आयोजनाका लागि यसअघि नै नेपाल बास्केटबल संघ र हिमालयन जाभाबीच सम्झौता भइसकेको छ।
नेपाली बास्केटबल खेल र खेलाडीको विकासका लागि यो लिग आयोजना गर्न लागेको नेबा अध्यक्ष गुरुङले बताए। ‘हामीले पहिलो पटक परिक्षण स्वरुप विकेण्ड लिग आयोजना गर्न लागेका छौँ। यसलाई पहिलो पटक राम्रोसँग सफल पार्न सके आगामी वर्षहरुमा अझ बृहत रुपमा आयोजना गर्नेछौँ। यसले खेलाडी र बास्केटबल समर्थकहरुका लागि खेल हेर्न राम्रो अवसर सिर्जना गर्ने विश्वास लिएका छौँ।’ नेबा अध्यक्ष गुरुङले भने।
प्रतियोगिताको लागि १५ लाख अनुमानित बजेट रहेको र यो अझै बढ्न सक्ने आयोजकले जनाएको छ। मुख्य प्रायोजक हिमालयन जाभा बाहेक अन्य प्रायोजकहरुसँग पनि छलफल भइरहेको र लिगको पुरस्कार राशी पनि केहि समयपछि सार्वजनिक गर्ने उनको भनाई थियो।
