काठमाडाैँ। नेपालले दक्षिण एसियाली युथ टेबलटेनिस प्रतियोगितामा १ स्वर्ण, ६ रजत र ५ कांस्यसहित आइतबार १२ पदक जितेको छ। यु–१९ र यु–१५ उमेरसमूहमा १४ स्वर्णका लागि भएको प्रतिस्पर्धामा बाँकी १३ स्वर्ण भारतले कब्जा ग¥यो।
लैनचौरस्थित राष्ट्रिय टेबलटेनिस प्रशिक्षण केन्द्रमा भएको प्रतियोगिताको यु–१९ ब्वाइज टिम इभेन्टमा प्रवेश बस्नेत, गनञ्जय दाहाल, हिमाल विष्ट र रुविन महर्जनको टोलीले नेपाललाई स्वर्ण दिलाए।
सोही स्पर्धाको गल्र्समा नेपालका इभाना थापा, वियंका राई, योङ्गी पौडेल र दिया देउलाले रजत जिते। इभाना र वियंकाको जोडीले यु–१९ गल्र्स डबल्समा पनि रजत हात पारे। यु–१५ गल्र्स डबल्समा नेपालका शुभश्री श्रेष्ठ र प्रजिना महर्जनको जोडी दोश्रो भए।
अखिल नेपाल टेबलटेनिस संघद्वारा आयोजित प्रतियोगिताको यु–१५ ब्वाइज टिम इभेन्टमा प्रजिल भट्टराई, जयस्नु महर्जन, आर्यन शाही र रिजन शाक्य सम्मिलित नेपाली टोलीले रजत प्राप्त गरे।
यु–१९ ब्वाइज डबल्समा नेपालका गनञ्जय दाहाल र प्रवेश बस्नेतको जोडी रजत जित्न सफल भए। यु–१५ ब्वाइज डबल्समा नेपालका प्रजिल भट्टराई र जयस्नु महर्जनको जोडी दोश्रो स्थानमा रहे।
यु–१५ गल्र्स टिम इभेन्टमा शुभश्री श्रेष्ठ, प्रजिना महर्जन, सुरम्य शाक्य र श्रृया शाक्य, यु–१९ मिक्स डबल्समा गनञ्जय दाहाल र इभाना, यु–१५ गल्र्स सिंगल्समा शुभश्री, यु–१९ गल्र्स सिंगल्समा इभाना, यु–१५ ब्वाइज सिंगल्समा प्रजिल भट्टराई तथा यु–१९ ब्वाइज सिंगल्समा गनञ्जय दाहालले नेपालका लागि कांस्य जिते।
विजेतालाई राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव टंकलाल घिसिङ, प्रदेश खेलकुद विकास परिषद्, बागमती प्रदेशका सदस्य–सचिव दीपक लामा, आयोजक संघका अध्यक्ष वृजेन्द्रबहादुर हमाल, उपाध्यक्षद्वय सुमन खड्गी र पूर्णशंकर श्रेष्ठ, महासचिव कुँवेरप्रकाश सिंहलगायतले एक कार्यक्रमबीच पुरस्कृत गरे।
चारदिने प्रतियोगितामा भुटान बाहेक ६ दक्षिण एसियाली राष्ट्रका ८५ खेलाडी सहभागी थिए। यु–१९ को ब्वाइज÷गल्र्स टिम इभेन्टमा पहिलो र दोश्रो हुने टोली उज्वेकिस्तानमा हुने एसियाली जुनियर टेबलटेनिसका लागि छनोट भएको आयोजकले जनाएको छ।


