काठमाडौं । एन्फा महिला लिगमा आज (मंगलबार) दुई खेल हुँदैछन्।
सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा हुने दिनको पहिलो खेलमा विभागीय टोली त्रिभुवन आर्मी क्लब र वालिङ नगरपालिकाबीच हुनेछ। यो खेल दिउँसो १२ः३० बजे सुरु हुनेछ।
अधिकांश राष्ट्रिय टोलीका खेलाडी समावेश गरेको आर्मी र विदेशी खेलाडी समावेश गर्दै बलियो देखिएको वालिङबीचको खेल रोमाञ्चक हुने अनुमान गरिएको छ।
जारी लिगमा सात खेलबाट १६ अंकसहित दोस्रो स्थानमा छ। १२ अंकसहित चौथो स्थानमा रहेको वालिङ शीर्ष पाँचमा आफ्नो स्थान सुरक्षित गर्ने योजनामा छ।
दिनको दोस्रो खेलमा संकटा क्लब र बागमती युवा क्लब प्रतिस्पर्धा गर्दैछन्। खेल दिउँसो ३ः३० बजे सुरु हुनेछ।
आठ अंक जोडेको संकटा र सात अंक जोडेको बागमती दुबै शीर्ष पाँचमा स्थान बनाउने योजनामा छन्।
हालसम्म तीन विभागीय टोलीको मात्रै दोस्रो चरण पक्का भएको छ। अब, बाँकी दुई स्थानको लागि वालिङ, कोशी, संकटा, चन्द्रपुर तथा बागमतीबीच प्रतिस्पर्धा चलिरहेको छ।


