नेपालमा एसियाकै ठूलो रग्बी प्रतियोगिता


काठमाडौं । नेपालमा एसियाकै ठूलो रग्बी प्रतियोगिता एसिया इमिरेट्स रग्बी सेभेन्स ट्रफी आयोजना हुँदैछ।

एसिया रग्बीको आयोजना र नेपाल रग्बी संघको व्यवस्थापनमा असोज १८ र १९ गते नेपालमा प्रतियोगिता हुन लागेको हो। प्रतियोगिता त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुनेछ। एसियाका १७ राष्ट्रले प्रतिस्पर्धा गर्ने छन्।

नेपालमा एसियाली स्तरको सिनियर रग्वी प्रतियोगिता हुन लागेको यो पहिलो पटक हो। प्रतियोगिताको च्याम्पियन महिला तथा पुरुष टोलीले एसिया रग्बीको ट्रफी सहित स्वर्ण पदक, दोस्रो हुनेले रजत र तेस्रो हुने टोलीले कास्य पदक प्राप्त गर्नेछन्।

२०२५ मा हुने एसिया रग्बी सेभेन्स सिरिजको छनोटको रुपमा समेत रहनेछ। काठमाडौंमा हुने एसिया रग्वी सेभेन्स ट्रफीको महिला र पुरुषतर्फको विजेताले २०२५ मा हुने एसिया रग्बी सेभेन्स सिरिजमा स्थान बनाउने छन्। जसले गर्दा यो प्रतियोगिता अझ बढी प्रतिस्पर्धात्मक हुने अपेक्षा गरिएकाे छ।

नेपाली टिम सन् २०१६ देखि एसिया रग्बीमा सहभागी हुँदै आएको छ। गत वर्ष कतारमा सम्पन्न भएको प्रतियोगितामा नेपालको पुरुष टोलीले साउदी अरेबिया र कीर्गिस्तानलाई हराएको थियो।

नेपालले विश्व रग्बीको पूर्ण सदस्यता पाएपछि सन् २०२२ मा बंगलादेशमा बंगबन्धु कप खेल्दै रग्बी फिफ्टिन्समा डेब्यु गरेको थियो। रग्बी प्रतियोगिता दशरथ र‌ंगशालामा नै आयोजना गर्न सरकारले स्वीकृति दिइसकेको रग्बी संघले जानकारी दिएको छ। नेपालले यो प्रतियोगिताबाट आफ्नो वरियता सुधार गर्ने लक्ष्य राखेको छ।


तपाईको प्रतिक्रिया !!!
भर्खरै प्रकाशित
यो साता धेरै पढिएको