
काठमाडौं । फुटबलर्स मिसन टुगेदरद्वारा आयोजित दोस्रो भेट्रान्स फुटबल प्रतियोगिता २०८१ अन्तर्गत आज सम्पन्न सेमीफाइनल खेलहरुमा फ्रिडम फाइटर र ठमेल टुरिजम डेभलपमेन्ट काउन्सीलले आफ्नो प्रतिस्पर्धी टोलीलाई हराउँदै फाइनलमा स्थान सुरक्षित गरेका छन्।
पहिलो सेमीफाइनलमा फ्रिडम फाइटरले हाम्रो धरान भेट्रान टिमलाई २–० गोल अन्तरले पराजित गर्यो। फ्रिडमका लागि विकर्ण श्रेष्ठ र तेज बहादुर गलामीले गोल गरेका थिए। तेज बहादुर गलामीलाई उत्कृष्ट प्रदर्शनका लागि ‘प्लेयर अफ द म्याच’ घोषित गरियो, र उनलाई राष्ट्रिय फुटबल टिमका पूर्व प्रशिक्षक पदम कृष्ण श्रेष्ठले पुरस्कार प्रदान गरे।
दोस्रो सेमीफाइनल खेलमा ठमेल टुरिजम डेभलपमेन्ट काउन्सीलले त्रिभुवन आर्मी फुटबल क्लबलाई २–० गोल अन्तरले पराजित गर्यो। ठमेलका लागि भेषराज लिम्बु र अंकुर खड्गीले गोल गरेका थिए। अंकुर खड्गीलाई खेलको ‘प्लेयर अफ द म्याच’ घोषित गरियो, र उनलाई बरिष्ठ फोटो पत्रकार श्याम चित्रकारले सम्मान गरे।
प्रतियोगिताको फाइनल खेल आइतबार दिउँसो २:३० बजे फ्रिडम फाइटर र ठमेल टुरिजम डेभलपमेन्ट काउन्सीलबीच हुनेछ।