हिमानी र रिसिका फाइनलमा

काठमाडौं कात्तिक १४ गते । बागभैरवकी हिमानी श्रेष्ठ र कोसेलीकी रिसिका तामाङ दोश्रो वडा अध्यक्ष कप खुला कराते प्रतियोगिताको महिला २० केजीमुनि शनिबार फाइनलमा प्रवेश गरेका छन्।

चुच्चेपाटीस्थित स्मार्ट प्यालेसमा भएको सेमिफाइनलमा हिमानीले कोसेलीकी सुहाना तामाङ तथा रिसिकाले शिवपुरी डोजोकी कृष्टि तामाङलाई पराजित गरे। नेपाल गोजुकाइ कराते डो संघको आयोजनामा भइरहेको प्रतियोगिताको पुरुष २० केजीमुनि बागभैरवका उत्सव श्रेष्ठ फाइनलमा पुगे। उनले सेमिफाइनलमा बालाजुका सौरव मगरलाई हराए। स्वर्णका लागि उत्सवले एमएचएसका साइमन मल्ल र भृकुटिका आशिष आचार्यबीचको विजेतासंग खेल्ने छन्।

महिला २५ केजीमुनि मनमैजुकी एन्जल तामाङ, अरनिकोकी रोजिना राउत, ठैवकी दिलिसा लामा र कोसेलीकी प्रनिषा कार्कीले सेमिफाइनलमा स्थान सुरक्षित गरे। सोही स्पर्धाको पुरुषमा मनमैजुका निसान कुँवर, मेरिल्यान्डका आलोकराज ठाकुर, नव शान्तिका मिसन तामाङ र शिवपुरीका प्रकाश तामाङले सेमिफाइनलमा स्थान बनाए।

मित्र पार्क नाय खिं बाजं खलःको सहकार्यमा भइरहेको प्रतियोगिताको महिला एकल कातामा नव शान्तिकी प्रसन्न फुयाँल, भृकुटिकी अंकिता पाण्डे, अरनिकोकी पुनम श्रेष्ठ र मेरिल्यान्डकी एलिना ठकुरी सेमिफाइनलमा पुगे। सो स्पर्धाको पुरुषमा विद्यावनका रुविन राई, इन्द्रवतिका सुसन तामाङ, भृकुटि रोहित बस्नेत र नव शान्तिका रोजन ओझाले सेमिफाइनल यात्रा तय गरे।

प्रतियोगिताको काठमाडौं महानगरपालिका वडा ७ का अध्यक्ष विमलकुमार होडाले एक कार्यक्रमबीच उद्घाटन गरे। सोही अवसरमा ६ जनालाई ब्ल्याकवेल्ट पहिलो डानको प्रमाण पत्र पनि सम्बन्धितलाई हस्तान्तरण गरिएको थियो। अपेक्षा थापा मगर, अन्सु गुरुङ, लिना राई, प्रज्ज्वल कार्की, जुनु गुरुङ र विदुषि पोखरेललाई ब्ल्याकवेल्ट पहिलो डानको प्रमाण पत्र प्रदान गरियो।

दुईदिने प्रतियोगितामा पुरुष÷महिलातर्फ समान ११–११ गरी जम्मा २२ स्पर्धामा २ सय २० खेलाडीको सहभागिता रहेको आयोजक संघका उपाध्यक्ष एवं प्रचार प्रसार उपसमितिका संयोजक अच्युतराज उप्रेतीले जनाएका छन्।


तपाईको प्रतिक्रिया !!!
भर्खरै प्रकाशित
यो साता धेरै पढिएको