काठमाडौँ । हाइपयती इभेन्ट्स र ई-प्लानेट एजुकेसनल कन्सल्टेन्सीको सहकार्यमा ‘ई-प्लानेट नेशनल हाइस्कुल क्रिकेट च्याम्पियनसिप-२०८१’ आयोजना हुने भएको छ। हाइस्कुलका युवा खेलाडीहरूको प्रतिभा पहिचान गर्ने उद्देश्यले यो राष्ट्रव्यापी प्रतियोगिता आयोजना गर्न लागिएको बताइएको छ।
प्रतियोगिताका छनोट खेलहरू पुस ३ गतेदेखि सुरु हुने आयोजकले जनाएको छ। छनोट चरणपछि प्रत्येक प्रदेशका विजेता टोलीलाई फाइनल चरणको प्रतियोगितामा सहभागी गराइने छ। फाइनल चरणको प्रतियोगिता माघ ९ देखि १२ गतेसम्म काठमाडौँमा आयोजना हुनेछ।
प्रतियोगितामा कक्षा ११ र १२ मा अध्ययनरत विद्यार्थीले भाग लिने पाउने आयोजकले जनाएको छ। प्रदेशस्तरीय प्रतियोगिताको विजेताले ५० हजार रुपैयाँ नगद पुरस्कारका अतिरिक्त अन्तिम चरणको प्रतियोगिता खेल्ने अवसर पनि पाउने छ। फाइनल चरणको प्रतियोगिताको विजेता टोलीले एक लाख रुपैयाँ नगद पुरस्कारसहित च्याम्पियन्स ट्रफी हात पार्ने आयोजकले जनाएको छ। फाइनल चरणको प्रतियोगिताको उप-विजेता टोलीले भने ५० हजार रुपैयाँ नगद पुरस्कार हात पार्नेछ।
फाइनल चरणको प्रतियोगितामा विभिन्न चार विधामा सर्वोत्कृष्ट घोषित हुने खेलाडीलाई पनि जनही १० हजार रुपैयाँ नगद पुरस्कार प्रदान गरिने छ। छनोट र फाइनल चरणको प्रतियोगितामा गरी कुल ५७ टोलीको प्रतिस्पर्धा रहने बताइएको छ।
छनोट प्रतियोगिताहरू इटहरी, जनकपुर, बुटवल, पोखरा, सुर्खेतको वीरेन्द्रनगर, धनगढी र काठमाडौँमा सम्पन्न हुनेछन्।


