काठमाडौं। एन्फा राष्ट्रिय लिग अन्तर्गत संकटा फुटबल क्लबले श्री भगवती क्लबलाई पराजित गरेको छ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशाला मा बिहीबार सम्पन्न खेलमा संकटाले भगवतीलाई १–० गोलले हराएको हो।
संकटाको जितमा ६९औँ मिनेटमा कृष्णबहादुर आलेले गरेको गोल नै निर्णायक बन्यो। पहिलो हाफमा दुवै टोलीले केही अवसर सिर्जना गरे पनि गोल भने हुन सकेन।
दोस्रो हाफको अन्त्यतिर भगवतीले काउन्टर आक्रमण गर्दै बराबरी गोलको प्रयास गरेको थियो। तर अवसरलाई सदुपयोग गर्न नसक्दा उसले हार बेहोर्न बाध्य भयो।
यस जितसँगै संकटाले १० खेलबाट १३ अंक जोड्दै अंकतालिकाको आठौँ स्थानमा उक्लिएको छ। पराजित भगवती भने समान खेलबाट ८ अंकसहित १३औँ स्थानमा रहेको छ।


