काठमाडौं । चर्च ब्वाइज युनाइटेड पाँचथरको फिदिममा जारी ११औँ फाल्गुनन्द गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ।
फिदिम माध्यमिक विद्यालयको खेलमैदानमा शुक्रबार भएको पहिलो सेमिफाइनल खेलमा आयोजक फिदिम स्पोर्टिङ क्लबलाई ३–१ गोलअन्तरले पराजित गर्दै चर्च ब्वाइज फाइनलमा पुगेको हो।
खेलको ४३औँ मिनेटमा दिनेश शेर्माको गोलबाट आयोजक टोलीले सुरुआती अग्रता लिएको थियो। पहिलो हाफको अतिरिक्त समयमा चर्च ब्वाइज बराबरीमा फर्कियो। उसका लागि समिर तामाङले गोल गरेका थिए।
खेलको ६२औँ मिनेटमा विदेशी खेलाडी अर्मान बेडमले गोल गर्दै आफ्नो टिमलाई अग्रता दिलाएका हुन्। यस्तै ८४औँ मिनेटमा अर्का विदेशी खेलाडी फोफोना अबियमीले गोल गर्दै चर्च ब्वाइजको अग्रता फराकिलो पारेसँगै जित हासिल भएको हो। खेलको उत्कृष्ट खेलाडी बनेर अबियमीले रु १० हजार पुरस्कार प्राप्त गरेका छन्।


