पोखरा, सानो गौचरण र धरान क्वार्टरफाइनलमा

काठमाडौं । पोखरा ११, धरान सिटी एफसी र सानो गौचरण नाइट किङ्स क्लबले मंगलबार समूह चरणको अन्तिम दिन आ–आफ्नो खेलमा अनुकुल नतिजा निकाल्दै जारी तेस्रो भेट्रान फुटबल प्रतियोगिताको क्वार्टरफाइनलमा स्थान सुरक्षित गरेका छन्।

पूर्व खेलाडीहरुको संगठन फुटबलर्स मिसन टुगेदरको आयोजनामा जारी प्रतियोगितामा मंगलबारका नतिजासँगै क्वार्टरफाइनल समिकरण पूरा भएको छ। प्रतियोगितामा यसअघि नै न्युरोड टिम (एनआरटी), नेपाली सेनाको त्रिभुवन आर्मी क्लब (टिएएफसी), फ्रिडम एफसी, जोरपाटी एफसी र चाबहिल एफसीले अन्तिम आठमा स्थान सुरक्षित गरिसकेका थिए।

पूर्व राष्ट्रिय खेलाडी सुरेन्द्र तामाङले ह्याट्रिक गरेपछि पोखरा ११ ले इमाडोल युनिटी क्लबलाई ७–३ को फराकिलो अन्तरमा पराजित गर्यो। विजेता टोलीका लागि सुरेन्द्रको ह्याट्रिकसँगै बालकृष्ण लामाले दुई गोल गरे भने नरेन्द्र गुरुङ र सन्तोष केसीले १÷१ गोलमा नाम लेखाए। इमाडोल युनिटी क्लबका लागि सञ्जीवभक्त बिष्टले गरेका २ तथा गोविन्द महर्जनले गरेको १ गोल सान्त्वनामा सीमित भयो।

अघिल्लो खेलमा सामाजिक क्लबमाथि ३–१ को जित हासिल गरेको पोखरा समूह ‘एच’ बाट सतप्रतिसत नजिताका साथ प्राप्त ६ अंकसहित अन्तिम ८ प्रवेश गरेको हो। अन्तिम ८ मा पोखराले बुधबार धरान सिटी एफसीसँग प्रतिस्पर्धा गर्नेछ। अखिल नेपाल फुटबल संघ (एन्फा)को सातदोबाटोस्थित मुख्यालयमा मंगलबार धरानले अविजित यात्रा कायम राख्ने क्रममा हिलसाइड एफसीमाथि ४–० को जित हासिल गर्दै अन्तिम ८ को ढोका खोल्यो । धरानको जितमा रमेश राई बुद्ध चेम्जोङ, जीवन लिम्बुर केन्द्र लिम्बुले गोल गरेका थिए। समूह ‘एफ’ बाट ६ अंकका साथ अघि बढेको धरानले अघिल्लो खेलमा सोमबार वीरगञ्ज एकेडेमीमाथि ४–१ को जित निकालेको थियो।

मंगलबारै अकों खेलमा हरिहर थापाले ह्याट्रिक गरेपछि सानो गौचरणले ८०ज एम भेट्रान्सलाई ४–२ ले हराउँदै क्वार्टरफाइनलमा स्थान बनायो । सानो गौचरणको लागि अर्को गोल सुन्दर नेपालले गरेका थिए भने पराजित टोलीका लागि बालगोपाल साहुखल र जीवन श्रेष्ठले गोल गरे। समूह ‘जी’ को पहिलो खेलमा लाहन फुटबल क्लबमाथि ८–० को जित हासिल गरेको सानो गौचरणले अन्तिम ८ मा फ्रिडम एफसीसँग प्रतिस्पर्धा गर्नेछ। फ्रिडम समूह ‘इ’ बाट विजेता बन्दै क्वार्टरफाइनल पुगेको हो।

यसैबीच, समूह ‘इ’ बाट यसअघि नै बाहिरिइसकेका महावीर क्लब र कपन युनाइटेडबीचको प्रतिष्ठाको लडाईमा १–१ को बराबरी नतिजा निस्कियो। दुवै टोलीले पहिलो खेलमा फ्रिडमलाई नतिजा सुम्पिएका थिए। समूहको आफ्नो अन्तिम खेलमा कप्तान ध्रुव न्यौपानेको गोलमा कपनले सान्त्वना जित हासिल गर्ने संकेत गरेको थियो । तर समय सकिनै लाग्दा पूर्ण रानाले महावीरका लागि गोल गरेपछि खेल बराबरीमा टुंगियो।

मध्यपुर युथ एसोसिएसनको भक्तपुरस्थित मैदानमा सुरु भएको प्रतियोगिता बेमौसमी झरीका कारण आइतबारबाट एन्फा मुख्यालयको मैदानमा सरेको थियो। मौसम सुधारिएसँगै मैदान मर्मतको काम सम्पन्न भएपछि बुधबारबाट प्रतियोगिताका बाँकी खेल सबै मध्यपुरमै हुनेछन्। प्रतियोगिताका सबै क्वार्टरफाइनल खेल भोली बुधबार हुनेछन् भने बिहीबार सेमिफाइनल र शुक्रबार फाइनल हुने तालिका छ। क्वार्टरफाइनलका अन्य खेलमा जोरपाटीले छिमेकी टोली चाबहिल तथा एनआरटीले आर्मीसँग प्रतिस्पर्धा गर्नेछन्।


तपाईको प्रतिक्रिया !!!
भर्खरै प्रकाशित
यो साता धेरै पढिएको