काठमाडाैँ । जोस इङ्ग्लिसको शतकमा अस्ट्रेलियाले इङ्ग्ल्यान्डलाई हराउँदै च्याम्पियन्स ट्रफीमा विजयी सुरुआत गरेको छ ।
पाकिस्तानको लाहोरस्थित गद्दाफी स्टेडियममा समूह ‘बी’ अन्तर्गतको खेलमा अस्ट्रेलिया ५ विकेटले विजयी भएको हो।
इङ्ग्ल्यान्डले दिएको ३५२ रनको विशाल लक्ष्य अस्ट्रेलियाले ४७.३ ओभरमा ५ विकेट गुमाएर पूरा गर्यो।
अस्ट्रेलियाको जितमा इङ्ग्लिसले नट आउट रहँदै सर्वाधिक १२० रन जोडे। उनले ८६ बलमा ८ चौका र ६ छक्का प्रहार गरे।
ओडिआई करियरको पहिलो शतक इङ्ग्लिसले ७७ बलमा पूरा गरेका थिए। कुनै समय २७ रन जोड्दा २ विकेट गुमाएर खराब सुरुआत गरेको अस्ट्रेलियाका लागि तेस्रो विकेटका लागि माथ्यु शर्ट र मार्नुस लाबुशेनले ९५ रनको साझेदारी गरे। ओपनर शर्टले ६६ बलमा ९ चौका र १ छक्काको सहयोगमा ६३ रन जोडे।
लाबुशेन ४५ बलमा ५ चौकाको सहयोगमा ४७ रनमा आउट भए। कप्तान स्टिभ स्मिथ ५ रनमा आउट हुँदा एलेक्स केरीले ६३ बलमा ८ चौकाको सहयोगमा ६९ रन जोडे।
ग्लेन म्याक्सवेल १५ बलमा ३२ रनमा नट आउट रहँदा ओपनर ट्राभिस हेड ५ रनमा आउट भए।
इङ्ग्ल्यान्डका लागि आदिल राशिद, मार्क वुड, बायडेन कार्स, लियम लिभिङ्स्टोन र जोफ्रा आर्चरले समान १ विकेट लिए।
त्यसअघि टस हारेर ब्याटिङको निमन्त्रणा पाएको इङ्ग्ल्यान्डनिर्धारित ५० ओभरमा ८ विकेट गुमाएर ३५१ रन बनाएको थियो।