काठमाडौं । मधेश प्रदेश प्रथम सौराहा अन्तर्राष्ट्रिय तेक्वान्दो च्याम्पियनसिपको टिम च्याम्पियन भएको छ।
चितवनको रत्ननगर नगरपालिकास्थित निपनीमा सम्पन्न प्रतियोगितामा मधेश प्रदेशले बागमती प्रदेशभन्दा एक कांस्य पदक बढी जित्दै टिम च्याम्पियनको उपाधि उचाल्यो। मधेश र बागमतीले समान १७ स्वर्ण र १० रजत पदक जिते। तर मधेशले ९ कांस्य पदक जित्दा बागमतीले आठ कांस्य पदक मात्र जित्न सफल भयो। यससँगै मधेशले आठ राष्ट्रले प्रतिस्पर्धा गरेको प्रतियोगितामा टिम च्याम्पियनको उपाधि उचाल्यो।
च्याम्पियन मधेशले ५० हजार र उपविजेता बागमतीले ३० हजार रुपैयाँ नगद पुरस्कार पाए। प्रतियोगितामा नेपालसहित भारत, माल्दिभ्स, मलेसिया, अस्ट्रेलिया, बंगलादेश, सिंगापुर, साउदी अरेबिया र जापानका करिब आठ सय खेलाडीले ग्योरोगी र पुम्से विधाका विभिन्न उमेर तथा तौल समूहमा प्रतिस्पर्धा गरेका थिए।
चितवन तेक्वान्दो डोजाङको आयोजनामा भएको आयोजक टोली (चितवन जिल्लाको टोली) तेस्रो भयो। आयोजकले १० स्वर्ण, १७ रजत र ४० कांस्य पदक जित्यो। तेस्रो भएको आयोजक टोलीले २० हजार रुपैयाँ पुरस्कार प्राप्त गरे। च्याम्पियनसिपमा चितवनका साहिल मन्सुर ग्योरोगीतर्फ उत्कृष्ट पुरुष खेलाडी घोषित भए। बागमतीकी दीक्षा तामाङ उत्कृष्ट महिला ग्योरोगी खेलाडी बनिन्। उत्कृष्ट प्रशिक्षकको पुरस्कार मधेशका दीपेश मानन्धरले प्राप्त गरे। विजेता टोली तथा खेलाडीलाई रत्ननगर नगरपालिकाका प्रमुख प्रह्लाद सापकोटा, प्रतियोगिता संयोजक प्रमुख प्रज्वल दवाडी र आयोजक चितवन जिल्ला तेक्वान्दो डोजाङका प्रमुख रोशनलगायतले पुरस्कृत गरे।
च्याम्पियनसिपमा उज्वल श्रेष्ठ उत्कृष्ट रेफ्री घोषित भएको प्रतियोगिताको अन्तर्राष्ट्रिय संयोजक अशोक खड्काले बताए। पुम्से पुरुषतर्पm आयुष गुरुङ र महिलामा युमी राई उत्कृष्ट खेलाडी घोषित भए। प्रतियोगितामा ग्योरोगीतर्फ सब जुनियर (९–११ वर्ष), क्याडेट (१२–१४ वर्ष), जुनियर (१५–१७ वर्ष) र सिनियर (१८ वर्षमाथि) तथा पुम्से विधामा गरी कुल ६४ स्वर्ण र रजत तथा १२८ कांस्य पदकका लागि प्रतिस्पर्धा भएको थियो।