सन्तोषी र मिङ्गमार शाइन रेसुङ्गा रन च्याम्पियन


काठमाडौं । सन्तोषी श्रेष्ठ र मिङ्गमारसिंह तामाङले शाइन रेसुङ्गा राष्ट्रिय टेन के रनको उपाधि जितेका छन्।

रुपन्देहीको बुटवलमा आईतबार सम्पन्न प्रतियोगितामा महिलातर्फ सन्तोषी र पुरुषतर्फ मिङ्गमार च्याम्पियन बनेका हुन्। च्याम्पियन बन्दै दुवै खेलाडीले नगद एक लाख रुपैयाँ प्राप्त गरे।

सन्तोषीले निर्धारित दुरी ३६ दशमलव २१ सेकेन्डमा पुरा गरिन्। पूर्णराज्य लक्ष्मी न्यौपाने दोस्रो, पुष्पा भण्डारी तेस्रो, आशा रावल चौथों र नारायणी भण्डारी पाँचौं बनिन्। पुरुषतर्फ नागेश्वर ऐर दोस्रो, गणेशसिंह रावत तेस्रो, सन्जीव नेपाली चौथों र अक्कल बडवाल पाँचौं भए।

दुवै विधाका दोस्रोले ४० हजार, तेस्रोले २० हजार, चौथोंले १५ हजार र पाँचौं हुनेले १० हजार रुपैयाँ प्राप्त गरेका छन्।

यस्तै, स्थानीय पाँच किलोमिटर प्रतिस्पर्धामा शिव रायमाझी र पुजा पछाईं विजेता बने। पुरुषमा अजय पाण्डे दोस्रो, मुकेश थारु तेस्रो र प्रेमलाल कोहार चौथों बने। महिलातर्फ तेजमाया कुँवर दोस्रो, प्रकृति घिमिरे तेस्रो र प्रतिभा केवर चौथौं बने।

यस्तै भेट्रान्स स्पर्धामा महिलातर्फ मनकुमारी रायमाझी पहिलो र गोमा सुवेदी दोस्रो बनिन्। पुरुषतर्फ युवबहादुर राना पहिलो, गोबिन्द थापा दोस्रो, केशर सिंह महत तेस्रो र टेकबहादुर बुढाथोकी चौथों भए। दुवै स्पर्धाका विजेताले १५ हजार, दोस्रोले १० हजार, तेस्रोले ५ हजार, चौथोंले २ हजार ५ सय रुपैयाँ प्राप्त गरेका छन्।

बुटवल कालिकानगरस्थित बैंकको केन्द्रिय कार्यालयबाट सुरु भएको दौड मणिग्राम चोक पुगेर केन्द्रिय कार्यालयमा आएर समापन भएको थियो।

शाइन रेसुङ्गा डेभलोपमेन्ट बैंकको १७औं वार्षिकोत्सवको अवसरमा आयोजित प्रतियोगितामा ओलम्पियन बैकुन्ठ मानन्धर प्रमुख अतिथी रहेका थिए। बैंकका प्रमुख कार्यकारी अधिकृत प्रकाश पौडेलले खेलकुदमार्फत समाजमा सकारात्मक प्रभाव पार्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको बताए ।

प्रतियोगितालाई क्रिमशन हस्पिटल, सिद्धार्थ प्रिमियर इन्स्योरेन्स लिमिटेड, सगुन फुड्स र रेसुङ्गा जलले सहकार्य गरेका थिए। साथै सांग्रिला डेभलोपमेन्ट बैंक, लुम्बिनी विकास बैंक, मुक्तिनाथ विकास बैंक, गरिमा विकास बैंक, ज्योति विकास बैंक, महालक्ष्मी विकास बैंक, कामना सेवा विकास बैंकले सहयोग गरेका थिए।


तपाईको प्रतिक्रिया !!!
भर्खरै प्रकाशित
यो साता धेरै पढिएको