दक्षिण अफ्रिका समूह विजेता बन्दा इङ्ल्यान्ड जितविहिन

काठमाडौं । इङ्ल्यान्डलाई सात विकेटले पराजित गर्दै दक्षिण अफ्रिका समूह बी को विजेता बन्दै आइसिसी च्याम्पियन्स ट्रफीको सेमिफाइनलमा प्रवेश गरेको छ।

कराचीस्थित नेसनल क्रिकेट मैदानमा शनिबार इङ्ल्यान्डले दिएको १८० रनको लक्ष्य दक्षिण अफ्रिकाले २९.१ ओभरमा तीन विकेट गुमाउँदै पूरा गर्यो।

दक्षिण अफ्रिकाका लागि रास्सी भान डेर डुसेनले ८७ बलमा ६ चौका र तीन छक्काको मद्दतले अविजित ७२ रनको योगदान गरे। यसैगरी हेनरिक क्लासेनले ५६ बलमा ११ चौकाको मद्दतले ६४  र रायन रिकेल्टनले २७ रन जोडे।

तेस्रो विकेटका लागि डुसेन र क्लासेनले १२७ रनको साझेदारी गरे। इङ्ल्यान्डका लागि जोफ्रा आर्चरले दुई तथा आदिल रासिदले एक विकेट लिए।

त्यसअघि टस जितेर ब्याटिङ रोजेको इङ्ल्यान्डले ३८.२ ओभरमा सबै विकेट गुमाउँदै १७९ रनको योगफल तयार पारेको थियो।

इङ्ल्यान्डका लागि जो रुटले ३७, जोफ्रा आर्चरले २५, बेन डुकेटले २४, कप्तान जोस बटलरले २१, ह्यारी ब्रुकले १९ र जिमी ओभरटनले ११ रन बनाए।

जितसँगै तीन खेलमा पाँच अंक जोडेको दक्षिण अफ्रिका समूह ‘बी’ को विजेता बन्यो। इङ्ल्यान्ड भने जितविहिन बन्दै प्रतियोगिता अन्त्य गर्यो।


तपाईको प्रतिक्रिया !!!
भर्खरै प्रकाशित
यो साता धेरै पढिएको