काठमाडौं। आइसिसी च्याम्पियन्स ट्रफी एकदिवसीय क्रिकेटको सेमिफाइनलमा न्यूजिल्याण्डले दक्षिण अफ्रिकालाई ३६३ रनको लक्ष्य दिएको छ।
पाकिस्तानको लाहोरस्थित गद्दाफी स्टेडियममा टस जितेर ब्याटिङ रोजेको न्यूजिल्याण्डले निर्धारित ५० ओभरमा ६ विकेट गुमाएर ३ सय ६२ रन बनायो। उसका लागि रचिन रवीन्द्र र केन विलियम्सनले शतकीय पारी खेले।
रचिनले १०१ बलमा १३ चौका र एक छक्कासहित १०८ रनको पारी खेलेका हुन्। एकदिवसीयमा उनको यो पाँचौं शतक हो। रचिन हाल उच्च लयमा छन्। उनले जारी प्रतियोगिताअन्तर्गत समूह चरणमा बंगलादेशविरुद्ध ११२ रनको पारी खेलेका थिए।
यस्तै, दक्षिण अफ्रिकाविरुद्धको सेमिफाइनल पूर्वकप्तान केन विलियम्सनले ९४ बलमा १० चौका र दुई छक्कासहित १०२ रन बनाए। ओडिआईमा उनको यो १५औँ शतक हो।
यस्तै, ग्लेन फिलिप्सले अविजित ४९, डारियल मिचेलले ४९, विल योङले २१, माइकल ब्रासवेलले १६ रन जोडे। दक्षिण अफ्रिकाका लागि लुंगि एन्गिडीले तीन, कागिसो रबाडाले दुई तथा विआन मुल्डरले एक विकेट लिए।
आज खेल जित्ने टिमले उपाधिका लागि भारतको सामना गर्नेछ । भारतले मंगलबार अस्ट्रेलियालाई हराउँदै फाइनलमा स्थान बनाइसकेको छ।