मञ्जुश्री ट्रेल रेस चैत १ देखि ३ गतेसम्म हुने


काठमाडौं। मञ्जुश्री ट्रेल रेस (एमटिआर) को पाँचौं संस्करणमा चैत १ देखि ३ गतेसम्म हुने भएको छ।

आयोजकका अनुसार यसपालि पाँच सयभन्दा बढी धावक धाविका दौडने छन् । मञ्जुश्री ट्रेस रेसमा ३७१ नेपाली र १३१ विदेशी गरी कूल ५०२ जनाको सहभागिता रहनेछ । जसमध्ये पुरुष धावक ४०८ र महिला धाविका ९४ जना छन् ।

पाँचौं मञ्जुश्री ट्रेल रेसमा एक सय माइल्स, एक सय किमी, ५० किमी, ३० किमी र दस किमी इभेन्टमा दौड हुनेछन् । १०० माइल्स स्वयम्भूस्थित सिङल ट्रिबाट सुरु भई सोही स्थानमा आएर सकिनेछ । १०० किमी रेस नगरकोटको सेरेन रिसोर्टबाट, ५० किमी रेस गोदावरीबाट तथा ३० किमी रेस सोलिड रक लज डोल्लु पर्मिङबाट सुरु हुनेछ । सबै रेस सिङगलल ट्रिस्थित पवना हाउसमा पुगेर समाप्त हुनेछ ।

मञ्जुश्री ट्रेल रेस एसिया ट्रेल मास्टर्सको क्वालिफायर पनि हो । मञ्जुश्रीमा विजेता हुने खेलाडीहरू भियतनामा हुने एसिया ट्रेल मास्टर्समा छनोट हुनेछन् । एसिया ट्रेल मास्टर्समा नेपाली खेलाडी उपाधि दाबेदारको रूपमा रहने गर्दछ । सन् २०२३ मा रसिला तामाङ र २०२४ मा प्रिया राईले एसिया ट्रेल मास्टर्सको उपाधि जितेका थिए ।

मञ्जुश्री ट्रेल रेसअन्तर्गत १०० माइल्समा पहिलो देखि तेस्रो हुनेले क्रमशः ७५ हजार, ४० हजार र २० हजार प्राप्त गर्नेछ । १०० किमीमा पहिलो देखि तेस्रो हुनेले क्रमशः ५० हजार, २५ हजार र १५ हजार तथा ५० किमीमा पहिलो देखि तेस्रो हुनेले क्रमशः ३० हजार, १५ हजार र १० हजार रुपैयाँ पुरस्कार पाउनेछ । ३० किमीमा पहिलो देखि तेस्रो हुने क्रमशः २० हजार १० हजार र ५ हजार रुपियाँको हकदार हुनेछ । १० किमीमा भने नगद पुरस्कार राखिएको छैन।


तपाईको प्रतिक्रिया !!!
भर्खरै प्रकाशित
यो साता धेरै पढिएको