कर्णालीविरूद्व गण्डकी प्रदेश ४ विकेटले विजयी

काठमाडौं । लुम्बिनी प्रदेशमा जारी प्रधानमन्त्री कप पुरूष राष्ट्रिय क्रिकेट प्रतियोगितामा गण्डकी प्रदेशले जित निकालेको छ ।

मंगलबार भएको लो स्कोरिङ खेलमा गण्डकीले कर्णालीलाई ४ विकेटले हराएको हो । कर्णालीले दिएको ९२ रनको लक्ष्य गण्डकीले २९.१ ओभरमा ६ विकेटको क्षतिमा पूरा गर्‍यो ।

एक समय २२ रनमै ६ विकेट गुमाएको गण्डकीका लागि दीपक डुम्रे र सुजन गौतमले साझेदारी बनाउँदै जित दिलाए । दीपक डुम्रेले अविजित ५० रन बनाए ।

कर्णालीका लागि कप्तान दिवान पुनले १० ओभरमा १३ रन दिएर ५ विकेट लिए । दिपेन्द्र रावतले २ तथा युनिशविक्रमसिंह ठकुरीले १ विकेट लिए ।

त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको कर्णाली २८औं ओभरमा ९१ रनमा अलआउट भएको थियो । बिपिन शाहीले सर्वाधिक २० रन बनाए भने अर्जुन घर्तीले १७ रन बनाए ।

बिपिन रावलले १५ र हिमांशु शाहीले १२ रन बनाए । गण्डकीका चन्द्र पौडेल, सुवास भण्डारी र बिपिन खत्रीले २-२ विकेट लिँदा सन्दीप पराजुली र अमृत गुरुङले १-१ विकेट लिए ।


तपाईको प्रतिक्रिया !!!
भर्खरै प्रकाशित
यो साता धेरै पढिएको