काठमाडौं । लुम्बिनी प्रदेशमा जारी प्रधानमन्त्री कप पुरुष क्रिकेट प्रतियोगितामा आज तीन खेल हुँदैछन्।
आज एपीएफ र मधेश प्रदेशबीच खेल हुँदैछ। याे खेल देउखुरी क्रिकेट स्टेडियममा बिहान ९ बजेबाट सुरु हुनेछ।
जारी प्रतियोगितामा एपीएफ र मधेश प्रदेश दुवै टोलीले आफ्नो पहिलो खेल जितेर विजयी सुरुआत गरेका छन्।
त्यस्तै, अर्को खेल त्रिभुवन आर्मी क्लब र कर्णाली प्रदेशबीच हुँदैछ। एक्स्ट्राटेक ओभल क्रिकेट स्टेडियममा हुने यो पनि बिहान ९ बजेबाट सुरु हुनेछ।
प्रतियोगितामा त्रिभुवन आर्मीले खेलेका दुवै खेलमा जित हासिल गर्दै उत्कृष्ट सुरुआत गरेको छ भने कर्णालीले खेलेका दुई खेलमध्ये एक जित र एक हार बेहोरेको छ।
यस्तै, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशबीच पनि आज प्रतिस्पर्धा हुँदैछ। सिद्धार्थ रंगशालामा बिहान ९ बजे सुरु हुने खेलमा गण्डकी र लुम्बिनीले अहिलेसम्म खेलेका दुई खेलमध्ये एक जित र एक हार बेहोरेका छन्।
अंकतालिकामा आर्मी र पुलिस समान ४ अंकसहित शीर्ष २ मा छन् भने एपीएफ र मधेश समान २ अंकसहित तेस्रो र चौथो स्थानमा छन्।