काठमाडौं । प्रधानमन्त्री कप एकदिवसीय पुरूष राष्ट्रिय क्रिकेट प्रतियोगितामा लुम्बिनी प्रदेशले दोस्रो जित निकालेको छ।
सिदार्थ रंगशालामा बिहवार सम्पन्न खेलमा लुम्बिनीले गण्डकी प्रदेशलाई १४ रनले हराएको हो।
लुम्बिनीले दिएको २१८ रनको लक्ष्य पछ्याएको गण्डकीले ५० ओभरमा ९ विकेट गुमाएर २०३ रन मात्र बनाउन सक्यो। अर्जुन कुमालले ६२ रन बनाएपनि जितका लागि पर्याप्त हुन सकेन । सुबास भण्डारीले ३० तथा अमृत गुरुङले अविजित २४ रन बनाए । मुस्कान थापा पनि २४ रनमा आउट भए।
सुरुवात राम्रो गरेपनि नियमित अन्तरालमा विकेट गुमाउँदा गण्डकी पराजित हुन पुग्यो । लुम्बिनीका निर्मल गुरुङले ८ ओभरमा ३१ रन दिएर ३ विकेट लिए। बिप्राशन केसीले २ तथा रमेश कुर्मि र नरबहादुर सार्कीले १-१ विकेट लिए।
जारी खेलमा लुम्बिनीले गण्डकीलाई २१८ रनको मध्यम लक्ष्य दिएको छ। टस हारेर पहिले ब्याटिङ गरेको लुम्बिनी ४९.५ ओभरमा २१७ रनमा अलआउट भयो। मृनाल गुरुङले सर्वाधिक ३८ रन बनाउँदा कप्तान देव खनालले ३३ रन बनाए। बिप्राशन केसीले २५ तथा मनिष थापाले २४ रन बनाए।
गण्डकीका अमृत गुरुङले ३ विकेट लिए भने चन्द्र पौडेल र बिपिन खत्रीले २-२ विकेट लिँदा सुबास भण्डारी, कमल परियार र वंश क्षेत्रीले १-१ विकेट लिए।