विश्व मुवाँथाईंमा सुमित्रालाई रजत


काठमाडाैँ । नेपालकी सुमित्रा नगरकोटीले २०औं डब्लुएमएफ विश्व मुवाँथाईमा रजत पदक जितेकी छन्।

नेपालले थप १ कांस्य पनि जितेको नेपाल राष्ट्रिय मुवाँथाई संघका अध्यक्ष गणेशलाल कक्षपतिले जनाएका छन्। कक्षपतिका अनुसार थाइल्यानडको बैंककमा भएको प्रतियोगितामा परिका बतासले कांस्य जितिन्।

महिला ५७ केजीमा सुमित्राले इटालीकी मिचेला पिन्नालाई पराजित गरी सेमिफाइनलमा प्रवेश गरेकी थिइन्। फाइनलमा ब्राजिककी क्यामिला मोस्म्यानसंग चुकेपछि सुमित्रा रजतमा सीमित भइन्। सुमित्रा भरातमा गत वर्ष भएको इन्डो–नेपाल प्रोफेसनल फाइटकी स्वर्ण विजेता हुन्।

महिला ४८ केजीको सेमिफाइनलमा क्याथ्रिन स्टेभेन्ससंग पराजित हुँदै परिकाले कांस्यमा चित्त बुझाइन्। परिकाले विश्व मुवाँथाईको १९औं संस्करणमा भने स्वर्ण जितेकी थिइन्।

नेपालबाट ६ खेलाडी सहभागी भएकोमा अकेश केसी, मिलन तामाङ, गुमन घर्ती मगर र आशिष तामाङ पदकविहीन बने। प्रशिक्षकमा राहुल मोक्तान रहेका छन्। सञ्जय राईले निर्णायकको भूमिका निर्वाह गरेका थिए। मार्च ९ देखि १८ तारिखसम्म भएको प्रतियोगितामा ३२ राष्ट्रका ३ सय ५२ खेलाडीले प्रतिस्पर्धा गरेको मुवाँथाई संघले जनाएको छ।


तपाईको प्रतिक्रिया !!!
भर्खरै प्रकाशित
यो साता धेरै पढिएको