आर्मीद्वारा लुम्बिनी १३१ रनले पराजित

काठमाडौं । प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय पुरुष क्रिकेट प्रतियोगितामा विभागिय टोली त्रिभुवन आर्मी क्लबले लुम्बिनी प्रदेशलाई १३१ रनले पराजित गरेको छ।

सिद्धार्थ क्रिकेट रंगशालामा आइतबार सम्पन्न खेलमा आर्मीले दिएको २४४ रनको लक्ष्य पछाएको लुम्बिनीले २७.१ ओभरमा सबै विकेट गुमाएर ११२ रन मात्रै बनाउन सक्यो।

उसका लागि कप्तान देव खनालले सर्वाधिक ३७ रन बनाउँदा मनिष थापा र बिप्रशन केसीले समान १३/१३ रन बनाए।

यता, आर्मीका लागि साहब आलमले चार विकेट हात पारे। यस्तै नरेन साउदले २, सोमपाल कामी, आकाश चन्द र बसिर अहमदले समान १/१ विकेट हात पारे।

त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको आर्मीले ४९.२ ओभरमा अलआउट हुँदै २४३ रन बनाएको थियो। उसका लागि बसिरले ८६ रन बनाए। तृतराज दासले ३१ तथा सोमपाल कामीले २८ रन बनाए।

लुम्बिनीका लागि अजय चौहानले १० ओभरमा ४७ रन दिएर ४ विकेट लिए। कृष्ण कार्की, निर्मल गुरुङ, रमेश कुर्मी, बिप्रासन केसी, नर सार्की र कप्तान देव खनालले १/१ विकेट लिए।

यो नतिजासँगै लुम्बिनीले ८ खेलबाट ४ खेल जितेको छ भने आर्मीले ८ खेल खेल्दा ७ जित निकालेको छ। आर्मी १४ अंकसहित शीर्ष दुईमा रहेर फाइनल प्रवेश गर्ने सम्भावना बलियो बनाएको छ।


तपाईको प्रतिक्रिया !!!
भर्खरै प्रकाशित
यो साता धेरै पढिएको