दिल्लीकाे लगातार चौथो जित

काठमाडौं। दिल्ली क्यापिटल्सले इन्डियन प्रिमियर लिग (आइपिएल) मा लगातार चौथो जित हासिल गरेको छ।

बिहीबार सम्पन्न खेलमा दिल्लीले घरेलु टोली रोयल च्यालेन्जर्स बैंग्लुरुलाई ६ विकेटले पराजित गरेको हो।

बैंग्लुरुले प्रस्तुत गरेको १६४ रनको लक्ष्य पछ्याएको दिल्लीले १७.५ ओभरमा चार विकेट गुमाउँदै १६९ रन बनायो।

टोलीलाई जित दिलाउन मध्यक्रमका राहुलले अविजित रहँदै सर्वाधिक ९३ रन बनाए। ५३ बल खेलेका उनले सात चौका र ६ छक्का प्रहार गरे। ट्रिस्टन स्टब्स २३ बलमा चार चौका र एक छक्कासहित ३८ रनमा अविजित रहे। 

कप्तान अक्षर पटेल १५ रनमा आउट हुँदा फाफ डुप्लेसी, जेक फ्रेजर र अभिषेक पोरेल चल्न सकेनन्। बैंग्लोरका भुवनेश्वर कुमारले सर्वाधिक दुई विकेट लिए। चार ओभर बलिङ गरेका उनले २६ रन खर्चिए।

यश दयाल र सुयश शर्माको नाममा समान एक विकेट रह्यो। त्यसअघि एम चिन्नास्वामी स्टेडियम, बैंग्लुरुमा टस हारेर पहिला ब्याटिङ थालेको घरेलु टोलीले सात विकेट गुमाउँदै १६३ रनको योगफल खडा गरेको थियो।

बैंग्लुरुका फिल साल्ट र टिम डेभिडले समान ३७ रन बनाए। कप्तान रजत पाटीदार २५, विराट कोहली २२, कुर्णाल पाण्ड्या १८ रनमा आउट हुँदा अन्यको ब्याट चल्न सकेन।

दिल्लीका विपराज निगम र कुलदीप यादवले समान दुई विकेट लिए। मुकेश कुमार र मोहित शर्माको नाममा समान एक विकेट रह्यो।

यो नतिजासँगै दिल्लीले चार खेलबाट आठ अंक पुर्‍याएको छ। जारी प्रतियोगितामा अपराजित रहने दिल्ली एक्लो टोली हो। तर, शीर्ष स्थानको गुजरात टाइटन्ससँग भने दिल्ली नेटरनरेटले पछि परेको छ। एक खेल बढी खेलेको बैंग्लुरुको भने ६ अंक छ।

बैंग्लुरुको भने यो दोस्रो हार हो। यसअघि बैंग्लुरु राजस्थान रोयल्ससँग ५० रनले पराजित भएको थियो। 


तपाईको प्रतिक्रिया !!!
भर्खरै प्रकाशित
यो साता धेरै पढिएको