धनगढी । नयाँ वर्षको उपलक्ष्यमा धनगढी जेसीजद्वारा आयोजना गरिएको ‘चैतन्य धनगढी हाफ म्याराथन’ को उपाधि नेपाली सेनाका खडकबहादुर खडकाले हात पारेका छन्।
अब धनगढी दौडिन्छ भन्ने नाराका साथ भएको हाफ म्याराथनमा उनले २१ दशमलब एक किलोमिटरको दुरी एक घण्टा तीन मिनेट २१ सेकेण्डमा पार गर्दै ७५ हजार रकम हात पारे। खड्का त्रिभुवन आर्मी क्लबका खेलाडी हुन्।
यस्तै, त्रिभुवन आर्मी क्लबकै राजन रोकाया दोस्रो भए। उनले निर्धारित दुरी एक घण्टा छ मिनेट सात सेकेण्डमा पुरा गरे। उपविजेता रोकायाले ५० हजार नगद पाउन सफल भए। एक घण्टा १० मिनेटमा निर्धारित दुरी पार गर्दै आर्मीकै नरेन्द्र सिंह रावत तेस्रो भए। उनले नगद २५ हजार रुपैयाँ प्राप्त गरे।
यस्तै आयोजकले तीन विधामा गरेको हाफ म्याराथुनको कर्पोरेट महिलातर्फको विद्यामा लक्ष्मी भट्ट प्रथम, कमला बडवाल द्धितीय र शान्ता वली तृतीय भईन्। पुरुषतर्फ विक्रम पार्की प्रथम, देवेन्द्र चन्द द्धितीय र चन्द नाथ तेस्रो भए। उनीहरुलाई नगद सात हजार पाँच सय, उपविजेताले नगद पाँच हजार र तेस्रो हुनेले नगद दुई हजार पाँच सय प्रदान गरिएको थियो।
विजयी खेलाडीहरुलाई एक समारोहका बीच पुरस्कार वितरण गरिएको छ। धनगढी जेसिजका अध्यक्ष लोकराज भट्टको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको हो।