काठमाडौं। इण्डियन प्रिमियर लिग (आईपिएल)मा पञ्जाब किंग्सले कोलकाता नाइट राइडर्सविरुद्ध ऐतिहासिक जित निकालेको छ। मंगलबार मुल्लानपुरमा भएको खेलमा पंजाबले आइपिएल इतिहासकै सबैभन्दा सानो योगफल बचाएको हो।
पञ्जाबले कोलकातालाई १६ रनले पराजित गरेको हो। ११२ रनको लक्ष्य पछ्याएको कोलकाताले १५.१ ओभरमा ९५ रन बनाउँदा सबै विकेट गुमायो। दुई विकेट गुमाउँदा ६२ रन बनाएको कोलकाताले सम्हालिन नसक्दा लगातार विकेट गुमायो।
कोलकाताका अंगक्रिश रघुवंशीले सर्वाधिक ३७ रन बनाए भने कप्तान अजिंख्य रहाणे र आन्द्रे रसेलले समान १७ रन बनाए। अन्य ब्याटरले भने दोहोरो रन बनाउन सकेनन्।
पञ्जाबका युजवेन्द्र चहलले चार विकेट तथा मार्को ज्यानसनले ३ विकेट लिए।
यसअघि टस जितेर ब्याटिङ रोजेको पंजाबले पनि खराब ब्याटिङ गर्दै १५.३ ओभरमा सबै विकेट गुमाएर मात्र एक सय ११ रन बनाएको थियो। पंजाबका प्रभसिमरन सिंहले ३० तथा प्रियांश आर्याले २२ रन बनाए भने शशांक सिंहले १८ रन बनाए।
कोलकाताका हर्षित राणाले ३ तथा वरुण चक्रवर्ति र सुनिल नारायलले समान दुई दुई विकेट लिए।