कास्की। पोखरामा सञ्चालन भइरहेको दोस्रो संस्करणको ‘केपी ओली कप’ टी –२० राष्ट्रिय पुरुष क्रिकेट प्रतियोगिताअन्तरगत समूह ‘डी’ का मंगलबारका खेलमा अत्तरिया क्रिकेट एकेडेमी र मालपोखरी क्रिकेट क्लब विजयी भएका छन्।
पोखरा रंगशालास्थित क्रिकेट मैदानमा आजको पहिलो खेलमा अत्तरिया क्रिकेट एकेडेमीले होरिजोन क्रिकेट क्लबलाई चार विकेटले पराजित गरेको हो। जितका लागि एक सय ४० रनको लक्ष्य पाएको अत्तरियाले १८ ओभरको दोस्रो बलमा छ विकेट गुमाएर लक्ष्य भेट्टाउन सफल भयो।
अत्तरियाका टेक रावतले उत्कृष्ट प्रदर्शन गर्दै ६१ रनको अविजित पारी खेले। विपिन रावलले २६ रन बनाए। होरिजोनका लागि तुलबहादुर थापा र सुवम खनालले समान दुई/दुई तथा महेश भार र निर्मल गुरुङले एक/एक विकेट हात पारे।
त्यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको होरिजोन क्रिकेट क्लबले १९ ओभरको पहिलो बलमा एक सय ४० रन बनाउँदै सबै विकेट गुमाएको थियो। होरिजोनको सुरुआत राम्रो हुन नसके पनि चौथो विकेटका लागि आएका कमल विष्टले ‘इनिङ’ उकास्ने काम गरे।
विष्टले ३९ रनको उत्कृष्ट पारी खेल्दै आउट भए। विप्रस केसीले ३५ रन बनाउँदै नटआउट रहे। अत्तरियाका लागि वसन्त खत्री र भोजराज भट्टले समान तीन विकेट लिए। सुशील साउदले दुई तथा हिकमत महर र अर्जुन विकले समान एक/एक विकेट लिए।
यसैगरी दोस्रो खेलमा टस जितेर ब्याटिङ सुरु गरेको सुन्दरहरैँचाले निर्धारित ओभरको खेलमा एक सय २८ रन बनाएपछि जितका लागि मालपोखरी क्रिकेट क्लबले एक सय २९ रनको लक्ष्य पाएको थियो।
विजयी लक्ष्य मालपोखरीले १७ ओभरको तेस्रो बलमा छ विकेट गुमाउँदै पूरा गर्न सफल भयो। सुन्दर हरैचा क्रिकेट क्लबलाई मालपोखरीले चार विकेटले हराउन सफल भएको हो। मालपोखरीका विजय गुुप्ताले सर्वाधिक ५९ रनको उत्कृष्ट पारी खेल्दै ‘रन आउट’ भए। सुन्दर हरैचाका लागि समिर कार्कीले दुई तथा सन्दीप ढुङ्गाना, प्रकाश कार्की र ओमकार यादवले समान एक/एक विकेट लिए।
मालपोखरीका लागि सिराज हवारी र जितेश मन्डलले दुईरदुई तथा सन्दीप खड्का, पङ्कज यादव र सोहनकुमार यादवले समान एक/एक विकेट लिए। प्रतियोगिता अन्तरगत समूह ‘डी’ दुई खेलमा दुई जित नै हासिल गरेको अत्तरिया चार अंकका साथ शीर्ष स्थानमा उक्लिएको छ।