काठमाडौं। इण्डियन प्रिमियर लिग (आईपीएल)को बुधबार भएको खेलमा दिल्ली क्यापिटल्सले रोमाञ्चक जित हासिल गरेको छ। दिल्लीले सुपरओभरमा राजस्थान रोयाल्सलाई सुपरओभरमा पराजित गर्दै जारी आईपीएलमा पाचौँ जित निकालेको छ।
अरुण जेट्ली स्टेडियम दिल्लीमा भएको खेलमा दिल्लीले दिएको १८९ रनको लक्ष्य पछ्याएको राजस्थानले निर्धारित २० ओभरमा ४ विकेट गुमाएर १८८ रन बनाएपछि खेल सुपरओभरमा गएको थियो। सुपर ओभरमा राजस्थानले दिएको १२ रनको लक्ष्य दिल्लीले ४ बलमै पूरा गर्यो।
१८९ रनको लक्ष्य पछ्याउने क्रममा राजस्थानका ओपनर यशस्वी जयसवाल र नितिश राणाले अर्धसतकीय पारी खेले। जयसवालले ३७ बलमा ३ चौका र ४ छक्काको मद्दतमा ५१ तथा राणाले २८ बलमा ६ चौका र २ छक्काको मद्दतमा ५१ रन बनाए। यस्तै कप्तान सन्जु सामसनले १९ बलमा ३१ रन बनाएर ‘रिटायर्ड हर्ट’ भए। दिल्लीका मिचेल स्टार्क, अक्षर पटेल र कुलदीप यादवले समान एक एक विकेट लिए।
यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको दिल्लीले २० ओभरमा ५ विकेट गुमाएर १८८ रन बनाएको थियो। दिल्लीका अभिषेक पोरेलले सर्वाधिक ४९ रन बनाए। यस्तै केएल राहुलले ३८ रन बनाउँदा ट्रिस्टन स्टब्स र कप्तान अक्षर पटेलले समान ३४ रन बनाए। राजस्थानका जोफ्रा आर्चरले दुई विकेट लिए।
योसँगै ६ खेलमा पाँचौं जित निकालेको दिल्ली १० अंकसहित शीर्ष स्थानमा उक्लिएको छ भने ७ खेलमा ४ अंक भएको राजस्थान आठौं स्थानमा यथावत छ ।