‘केपी ओली कप’ राष्ट्रिय क्रिकेटकाे उपाधि गण्डकीलाई

कास्की। पोखरामा सञ्चालन भएको दोस्रो संस्करणको ‘केपी ओली कप’ टी–२० राष्ट्रिय खुला पुरुष क्रिकेट प्रतियोगिताको उपाधि गण्डकी हिरोजले जितेको छ।

पोखरा रंगशालाको क्रिकेट मैदानमा आज सम्पन्न फाइनल खेलमा सिइसी काठमाडौंलाई पाँच विकेटले हराउँदै घरेलु टोली गण्डकी च्याम्पियन बन्यो। प्रतियोगिताको पहिलोपटक उपाधि जितेको गण्डकीले रु १० लाखसहित ट्रफी पुरस्कार पाउँदा उपविजेता काठमाडौंले रु पाँच लाख र ट्रफी पुरस्कार पायो।

फाइनल खेलमा जितका लागि एक सय ८३ रनको विजयी लक्ष्य पाएको गण्डकीले १७ ओभरको तेस्रो बलमा पाँच विकेट गुमाउँदै लक्ष्य पूरा गर्न सफल भयो। गण्डकीका वसन्त कार्की २७ र नारायण जोशी १३ रनमा ‘नटआउट’ रहँदै टोलीलाई जित दिलाए। वसन्तले १७ बलमा तीन छक्का प्रहार गरे भने नारायणले १० बलमा एक छक्का प्रहार गरे। किरण ठगुना ५२ रनको उत्कृष्ट अर्धशतकीय पारी खेल्दै बाहिरिए।

काठमाडौंका लागि दीपेन्द्र रावतले तीन विकेट लिँदा मनोज यादव र सूर्य तामाङले समान एक–एक विकेट लिए। त्यसअघि टस जितेर ब्याटिङ थालेको काठमाडौंले १९ ओभरको चौथो बलमा अलआउट हुँदै एक सय ८२ रन बनाएको थियो। अर्जुन घर्ती ६८ रनको उत्कृष्ट पारी खेल्दै ‘क्याचआउट’ हुन पुगे।

पृथु बाँस्कोटाले अर्धशतकीय पारी खेल्दै आउट भए। शिवम तिवारीले २३ रन जोड्नुबाहेक अन्य ब्याटरले दोहोरो अंक जोड्न सकेनन्। गण्डकीका लागि अमृत गुरुङ र कृष्ण पौडेलले समान तीन–तीन विकेट लिएभने विपीन खत्री र मिलन बोहोराले दुई–दुई विकेट हात पारे।

प्रतियोगितामा काठमाडौंका दीपेन्द्र रावत ‘प्लेयर अफ दी टुर्नामेन्ट’ घोषित हुँदै रु ३० हजार पुरस्कार पाए। उत्कृष्ट ब्याटर अत्तरियाका विपिन रावल र उत्कृष्ट बलर लुम्बिनीका अजयकुमार चौहान घोषित हुँदै समान रु २० हजार पाए। प्रतियोगिताका विजेता खेलाडीलाई प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेलगायतले पुरस्कार वितरण गरे।


तपाईको प्रतिक्रिया !!!
भर्खरै प्रकाशित
यो साता धेरै पढिएको