काठमाडौं। गुजरात टाइटन्स (जीटी) टोली आईपीएल प्लेअफको धेरै नजिक पुगेको छ। सोमबार कोलकाता नाइट राइडर्स (केकेआर) लाई ३९ रनले पराजित गरेर प्ले अफ नजिक पुगेको हो। प्रतियोगितामा गुजरात टाइटन्सको यो छैटौं जित हो।
गुजरात ८ खेलबाट १२ अंक जोडन सफल भएको छ। प्रतियोगितामा ६ खेल जित्ने एक मात्र टोली गुजरात हो। अब थप एक जितसँगै यसले प्लेअफमा आफ्नो स्थान लगभग पक्का गर्नेछ।
सोमबारको खेलमा पहिले ब्याटिङ गरेको गुजरात टाइटन्सले ३ विकेट गुमाएर १९८ रन बनाएको थियो। कोलकाताको इडेन गार्डेन रंगशालामा भएको खेलमा गुजरात टाइटन्सका ओपनर शुभमन गिल र साई सुदर्शनले अर्धसतक बनाए। गिलले ५५ बलमा ९० रन तथा सुदर्शनले ३६ बलमा ५२ रन बनाए। जोस बटलरले २३ बलमा ४१ बनाए। कोलकाताका वैभव अरोरा, हर्षित राणा र आन्द्रे रसेलले समान एक एक विकेट लिए।
१९९ रनको लक्ष्य पछ्याएको कोलकाता निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १५९ रनमा नै सीमित भए पछि गुजरातको छैंटौं जीत पक्का भएको हो। कोलकाताको यो ८ खेलमा पाँचौं हार हो। डिफेन्डिङ च्याम्पियन केकेआर ६ अंकसहित अंक तालिकाको सातौं स्थानमा रहेको छ।
कोलकाताका कप्तान अजिंक्य रहाणेले अर्धसतक बनाए। उनले ३६ बलमा ५० रन बनाउँदा अंगक्रिश रघुवंशीले १३ बलमा २७ रन बनाए। गुजरातका प्रसिद्ध क्रिष्ण र राशिद खानले दुई दुई विकेट लिए।