काठमाडौं । विभागिय टाेली एपीएफ र नेपाल पुलिस क्लबले आठौं केएनपी नेरोलेक शेरबहादुर खड्का स्मृति राष्ट्रिय महिला भलिबल प्रतियोगितामा बुधबार विजयी सुरुआत गरेका छन्।
त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा भएको समूह ‘ए’ को लिग खेलमा साविक विजेता एपीएफले नेपाल आर्मीलाई २५–२०, २५–१३ र २५–१६ को सोझो सेटमा पराजित ग¥यो।
शेरबहादुर खड्का स्मृति प्रतिष्ठानद्वारा आयोजित प्रतियोगिताको समूह ‘बी’ को लिगमा प्रहरीले पूर्व विजेता न्यु डायमन्डलाई सीधा सेटमा २५–१४, २५–२२ र २५–१३ ले हरायो। पाँच टिम सहभागी प्रतियोगिताको समूह ‘बी’ दुई टिम मात्र रहेकाले प्रहरी विजेता बन्दै सेमिफाइनलमा पुगेको छ।
न्यु डायमन्ड पनि समूह उपविजेता हुँदै सेमिफाइनलमा पुग्यो। प्रतियोगिताअन्तर्गत बिहीबार दुई खेल हुनेछ। पहिलो खेल आर्मी र एभरेष्ट भलिबल क्लबबीच बिहान ८ः०० बजे हुनेछ। दोश्रो खेलमा फेरि एभरेष्टले एपीएफ विरुद्ध अपरान्ह ४ः०० बजे प्रतिस्पर्धा गर्ने छ।
विजेताले नगद ४ लाख ९९ हजार, उपविजेताले २ लाख ५० हजार र तेश्रो हुनेले १ लाख २५ हजार रुपैयाँ नगद पुरस्कार प्राप्त गर्ने छन्।
प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीलाई ५० हजार नगद पुरस्कार प्रदान गरिनेछ भने विधागततर्फ उत्कृष्ट सेटर, डिफेन्स, सर्भर, लिबेरो, स्पाइकर र प्रशिक्षकलाई जनही २५ हजार दिइने छ। सर्वोत्कृष्ट खेलाडीको पुरस्कार मुक्तिनाथ विकास बैंक तथा विधागत उत्कृष्ट खेलाडीको पुरस्कार राष्ट्रिय वाणिज्य बैंकले प्रायोजन गरेका छन्। हरेक खेलको ‘प्लेयर अफ द म्याच’ ले १५ हजार रुपैयाँ नगद पुरस्कार प्राप्त गर्ने छन्।
