जयकुमार मेमोरियल क्रिकेट वैशाख २२ देखि हुने

काठमाडौं । काठमाडौं जिल्ला क्रिकेट संघले जयकुमार नाथ शाह मेमोरियल अन्तर स्कुल क्रिकेट प्रतियोगिताको दोस्रो संस्करण वैशाख २२–२९ सम्म आयोजना गर्ने भएको छ ।

नेपाल क्रिकेट संघ (क्यान) का पूर्वअध्यक्ष तथा नेपाली क्रिकेटका भीष्मपिताको उपनामले परिचित जयकुमार नाथ शाहको सम्झनामा गत वर्षदेखि यो प्रतियोगिता हुन थालेको हो । खेलहरू मूलपानीको तल्लो र माथिल्लो मैदान र त्रिवि मैदान कीर्तिपुरमा हुनेछ ।

प्रतियोगितालाई यस वर्षको एसिसी पुरुष यू–१६ ‍इस्टजोन कपको छनोट प्रतियोगिताका रूपमा लिएको संघले जनाएको छ ।

प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीलाई काठमाडौं जिल्लाको टोलीमा स्थान दिँदै नेपालको राष्ट्रिय यू–१६ टोलीको छनोटका लागि अवसर दिइनेछ । स्कुलस्तरीय प्रतियोगिता भएकाले यू–१६ टोलीका लागि उमेर परीक्षण पनि सही तरिकाले हुने अपेक्षा छ ।

गत वर्ष प्रतियोगितामा सैनिक आवासीय महाविद्यालय विजेता र मोक्षदा स्कुल उपविजेता बनेको थियो । यसपालि २१ स्कुल सहभागिता रहने र त्यसलाई ७ समूहमा विभाजन गरिएको आयोजकले जनाएको छ।

समूह विजेता सात टोली र एक उत्कृष्ट दोस्रो टोली क्वाटरफाइनलमा पुग्नेछन् । प्रतियोगितामा कुल २८ खेल हुनेछ ।

 


तपाईको प्रतिक्रिया !!!
भर्खरै प्रकाशित
यो साता धेरै पढिएको