सानदार जित निकाल्दै गेटवे फाइनलमा

काठमाडौं । गेटवे एकेडेमी जयकुमारनाथ शाह मेमोरियल यु १६ ट्वान्टी २० अन्तरविद्यालय क्रिकेट प्रतियोगिताको फाइनलमा पुगेको छ ।

आइतबार मुलपानी क्रिकेट मैदान (तल्लो) मा सम्पन्न दोस्रो तथा अन्तिम सेमिफाइनलमा गेटवेले मोक्क्षदा स्कुलविरुद्ध १३१ रनको फराकिलो जित दर्ता गर्यो ।

गेटवेले प्रस्तुत गरेको २०५ रनको लक्ष्य पछ्याएको मोक्क्षदा १२.१ ओभरमा ७४ रनमै समेटियो ।

मोक्क्षदाका लागि कप्तान इशान शाह सुवेदीले ३३ रन बनाउनुबाहेक अन्य ब्याटरले दोहोरो अंकमा रन जोड्न सकेनन् ।

गेटवेका लागि साइमन पन्त, लक्ष्मण भुर्तेल र पारस विष्टले समान दुई तथा अमित पटेल, उज्वल गुप्ता र कप्तान सबिर अन्सारीले समान एक विकेट लिए ।

त्यसअघि टस जितेर ब्याटिङ रोजेको गेटवेले निर्धारित २० ओभरमा दुई विकेट गुमाउँदै २०४ रनको योगफल तयार पारेको थियो ।

गेटवेका लागि सबिर अन्सारीले ६० बलमा सात छक्का र ६ चौकाको मद्दतले अविजित ११४ रनको योगदान गरे । यसैगरी अमित पटेल ६० बलमा चार चौका र एक छक्कासहित ६० रनमा अविजित रहे ।

तेस्रो विकेटका लागि सबिर र अमितले अविजित २०२ रनको साझेदारी गरेका थिए । मोक्क्षदाका लागि दुवै विकेट इशान शाह सुवेदीले लिए ।

गेटवेले अपी स्कुल र मोक्क्षदाले नेपाल पुलिस स्कुललाई हराउँदै सेमिफाइनलको यात्रा तय गरेका थिए ।

गेटवेले उपाधिका लागि डिएभी सुशील केडिया विश्व भारती स्कुल ‘ए’ को सामना गर्नेछ । डिएभी साबिक विजेता सैनिक आवसीय महाविद्यालयलाई ६ विकेटले निरास बनाउँदै फाइनलमा पुगेको हो ।


तपाईको प्रतिक्रिया !!!
भर्खरै प्रकाशित
यो साता धेरै पढिएको