दोस्रो एसकेबीसी तेक्वान्दो च्याम्पियनसिपको उपाधि ढल्कोलाई


काठमाडौं। दोस्रो एसकेबीसी बाग्मती प्रदेश आमन्त्रित तेक्वान्दो च्याम्पियनसिपको उपाधि ढल्को तेक्वान्दो डोजाङले जितेको छ।

टोखा नगरपालिकाको बसुन्धारास्थित हेराल्ड इन्टरनेशनल कलेजमा सम्पन्न च्याम्पियनसिपमा ढल्कोले ७ स्वर्ण, ५ रजत र ३ कास्यसहित कुल १५ पदक जित्दै उपाधि हात पारेको हो।

आयोजक एसकेबीसी तेक्वान्दो क्लबले ५ स्वर्ण, ३ रजत र १० कास्य पदक जित्दै उपविजेताको स्थान हासिल गर्‍यो। त्यस्तै, बालाजु तेक्वान्दो डोजाङले ४ स्वर्ण, ३ रजत र ६ कास्य पदक जित्दै तेस्रो स्थान प्राप्त गर्‍यो।

प्रतियोगितामा उत्कृष्ट महिला खेलाडीको उपाधि प्रतिमा भुजेलले र उत्कृष्ट पुरुष खेलाडीको उपाधि रवलहाङ लिम्बूले जिते। उत्कृष्ट प्रशिक्षकमा एसकेबिसीका सुवास बोहरा चयन भए भने उत्कृष्ट निर्णायकमा कुमार लावत घोषित भए। चारै जनाले ओप्पो मोबाइल पुरस्कार स्वरूप प्राप्त गरे।

टोखा नगरपालिकाको मुख्य प्रायोजन तथा वाग्मती तेक्वान्दो प्रदेश संघको सह–आयोजनामा सम्पन्न च्याम्पियनसिप आइतबार सम्पन्न भयो। समापन समारोहमा टोखा नगरपालिका–५ का वडाध्यक्ष मदन गुरुङले प्रतियोगितालाई निरन्तरता दिन हरेक वर्ष बजेट विनियोजन गर्ने प्रतिबद्धता जनाए। उनले खेलकुदमार्फत समाजलाई सकारात्मक दिशातर्फ डोर्‍याउन मद्दत मिल्ने विश्वास व्यक्त गरे।

समापन समारोहमा प्रतियोगिताका विजेता खेलाडी र डोजाङहरूलाई पुरस्कार वितरण गर्नुका साथै प्रतियोगिता सफल बनाउन सहयोग गर्ने संघ–संस्था र व्यक्तिहरूलाई सम्मान समेत गरिएको थियो।

एसकेबीसी तेक्वान्दो क्लबका मुख्य प्रशिक्षक तथा प्रतियोगिताका संयोजक रञ्जित डंगौराका अनुसार प्रतियोगितामा वाग्मती प्रदेशका विभिन्न जिल्लाबाट १८ डोजाङ तथा क्लबका पाँच सय सिनियर र जुनियर खेलाडी सहभागी थिए।

उनले च्याम्पियनसिपलाई प्रत्येक वर्ष नियमित रूपमा आयोजना गर्दै टोखालाई खेलकुद नगरका रूपमा विकास गर्ने लक्ष्य रहेको बताए। प्रतियोगिता शनिबार र आइतबार गरी दुई दिनसम्म संचालन भएको थियो।


तपाईको प्रतिक्रिया !!!
भर्खरै प्रकाशित
यो साता धेरै पढिएको