काठमाडौं। ब्याप्टिस्ट कप फुटबल प्रतियोगिताको उपाधिका लागि लुम्बिनी प्रदेश र बागमती प्रदेशबीच प्रतिस्पर्धा हुने भएको छ। फाइनल खेल बिहीबार दिउँसो २ बजेदेखि सुरु हुनेछ।
मंगलबारदेखि सुरु भएको प्रतियोगितामा बुधबार सम्पन्न लिग चरण तथा प्लेअफका खेलपछि फाइनल पुग्ने दुई टोलीको टुङ्गो लागेको हो।
लिग चरणमा चार खेलबाट तीन जित र एक बराबरीसहित १० अङ्क जोडेको लुम्बिनी अपराजित रहँदै फाइनलमा पुगेको हो। यता, लिग चरणमा तेस्रो स्थानमा रहँदै प्लेअफमा पुगेको बागमतीले कोशी प्रदेशलाई १–० गोलले पराजित गर्दै उपाधि भिडन्तमा स्थान बनाएको हो।
ब्याप्टिस्ट स्पोर्ट्स क्लबको आयोजनामा सञ्चालन भइरहेको प्रतियोगिताको विजेताले दुई लाख २२ हजार २२२ रुपैयाँ तथा उपविजेताले एक लाख ११ हजार १११ रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन्।
त्यस्तै, प्रतियोगिताका सर्वाधिक गोलकर्ता, उत्कृष्ट रक्षक, उत्कृष्ट गोलरक्षक र उत्कृष्ट प्रशिक्षकले जनही पाँच हजार रुपैयाँसहित ट्रफी प्राप्त गर्नेछन्। क्लबका अध्यक्ष डेभिड चाम्लिङ राईले उक्त जानकारी दिएका हुन्।
प्रतियोगिताको मुख्य प्रायोजक नेपाल ब्याप्टिस्ट मण्डली परिषद् रहेको छ। यस्तै, अमेरिकामा रहेका डा. प्रकाश मेघी गुरुङ सहप्रायोजकका रूपमा रहेका छन्। प्रतियोगिता सफल बनाउन विभिन्न सहयोगी संस्थाले पनि साथ दिएका छन्।
फाइनल खेलअघि भेट्रान टोलीबीच मैत्रीपूर्ण खेलसमेत आयोजना हुनेछ। खेलाडी उत्पादन गर्ने तथा तेस्रो श्रेणीको छनोट प्रतियोगितामा सहभागिता जनाउने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको आयोजकले जनाएको छ।
प्रतियोगितामा पाँच टोलीको सहभागिता रहेको थियो। लिग चरणमा गण्डकी प्रदेश चौथो स्थानमा रहँदा कर्णाली र सुदूरपश्चिमका खेलाडी सम्मिलित टोली अन्तिम स्थानमा रह्यो।
प्रतियोगिताको फाइनल खेलको प्रत्यक्ष प्रसारण खेलपाना मिडियाको आधिकारिक फेसबुक पेज तथा युट्युब च्यानलबाट हुनेछ।