आज नेदरल्याण्ड्ससँग भिड्दै नेपाल, बदला लिने मौका


नेपालका लागि यो खेल निर्णायक बन्न सक्छ, किनभने यसमा जित हात पार्न सकेमा नेपालको सिरिज जित्ने सम्भावना बलियो बन्नेछ ।

नेपालले श्रृंखलाको पहिलो खेलमा नेदरल्याण्ड्सविरुद्ध निकै रोमाञ्चक प्रतिस्पर्धा गरेको थियो । १५३ रनको लक्ष्य पछ्याउँदै नेपालले अन्तिम ओभरसम्म संघर्ष गर्दा खेल सुपर ओभरमा धकेलियो । तर, तेस्रो सुपर ओभर चुक्दा डच टोलीसँग नेपाल स्तब्ध भयो ।

उक्त खेलमा कप्तान रोहितकुमार पौडेलले ३५ बलमा ४८ रनको महत्वपूर्ण योगदान दिएका थिए । यद्यपि अन्य ब्याटरले अपेक्षाअनुसार प्रदर्शन गर्न सकेनन् । बलिङतर्फ भने नेपालले सशक्त प्रदर्शन गर्यो । नेदरल्याण्ड्सविरुद्ध सन्दीप लामिछानेले चार ओभरमा १८ रन खर्चेर सर्वाधिक तीन विकेट लिए ।

दोस्रो खेलमा नेपालले आयोजक स्कटल्याण्डविरुद्ध २ विकेटको संघर्षपूर्ण जित हात पार्योे । ९८ रनको झिनो लक्ष्य पछ्याउन नेपालले १९.४ ओभर खर्चिनु परेको थियो, जसले फेरि ब्याटिङ लाइनअपको कमजोरी उजागर ग¥यो । तर, बलिङमा फेरि सन्दीप लामिछाने चम्किए ।

उनले चार ओभरमा एक मेडनसहित ११ रन खर्चेर सर्वाधिक चार विकेट लिए । सन्दीप त्यस खेलमा ‘प्लेयर अफ द म्याच’ चुनिए । बलिङ सशक्त भए पनि ब्याटिङमा आएको कमजोर प्रदर्शन नेपालका लागि चिन्ताको विषय बनिरहेको छ ।

सुरुवाती ब्याटर अपेक्षित लयमा देखिएका छैनन् । स्ट्राइक रोटेसन, साझेदारी र रनरेटको तालमेल मिलाउन नसक्दा टोली दबाबमा देखिएको छ । कप्तान रोहित पौडेल, ओपनर कुशल भुर्तेल, उपकप्तान दीपेन्द्र सिंह ऐरीबाट तेस्रो खेलमा जिम्मेवार ब्याटिङको अपेक्षा गरिएको छ ।

बलरहरूले राम्रो प्रदर्शन गरे पनि त्यसलाई जितमा रूपान्तरण गर्न ब्याटरले आफ्नो भूमिका प्रभावकारी ढंगले निर्वाह गर्नुपर्नेछ । तेस्रो खेल नेपालका लागि महत्त्वपूर्ण मात्र होइन, भावनात्मकरूपमा पनि विशेष हुनेछ । नेपाल नेदरल्याण्ड्ससँगको अघिल्लो हारको बदला लिन चाहन्छ ।

नेपाल र नेदरल्याण्ड्सबीच अहिलेसम्म १३ वटा टी–२० अन्तर्राष्ट्रिय खेल भएका छन् । तीमध्ये डच टोलीले सात र नेपालले पाँच खेल जितेको छ । यी दुई टिमबीचको एउटा खेल भने रद्द भएको इतिहास छ । नेपाल र नेदरल्याण्ड्सबीचको प्रतिस्पर्धा सधैँ रोमाञ्चक रहँदै आएको छ, जुन पछिल्ला खेलले पनि प्रमाणित गर्यो ।

तेस्रोको खेलमा नेपालले बलिङको निरन्तर उत्कृष्ट प्रदर्शनलाई कायम राख्ने अपेक्षा गरिएको छ । विशेषतः सन्दीप लामिछाने, करण केसी र ललित राजवंशीबाट प्रभावशाली बलिङको आशा गरिएको छ । तर, जितको प्रमुख सर्त भने ब्याटिङ सुधार नै हुनेछ ।

डच टिमविरुद्ध बलियो मानसिकता, अनुशासन र राम्रो समन्वयको खाँचो छ । साथै नेपाल बलियो प्लेइङ–११ का साथ मैदान उत्रने योजनामा छ ।

 


तपाईको प्रतिक्रिया !!!
भर्खरै प्रकाशित
यो साता धेरै पढिएको