काठमाडाैँ। तीन खेलको प्रतिबन्ध भोगेर आएकी मोसमत सागोरिकाको ह्याट्रिकसँगै बंगलादेशले साफ महिला यु–२० च्याम्पियनसिपको उपाधि रक्षा गरेको छ।
बसुन्धरा किङ्स एरेनामा सोमबार सम्पन्न लिगको अन्तिम खेलमा बंगलादेशले नेपाललाई ४–० ले पराजित गरेको हो। योसँगै बंगलादेशले अपराजित रहँदै उपाधि जितेको हो। बंगलादेशले ६ खेलबाट १८ अंक जोड्यो।
समान खेल खेलेको नेपालको १२ अंक मात्रै रह्यो। प्रतियोगितामा बंगलादेशले नेपाललाई दोस्रोपल्ट हराएको हो। पहिलो खेलमा इन्जुरी समयको अन्तिम सेकेन्डमा गोल गर्दै बंगलादेशले ३-२ को नाटकीय जित निकालेको थियो।
बंगलादेशले सन् २०२३ को संस्करणको पनि उपाधि जितेको थियो। उमेर समूहमा बंगलादेशको यो पाँचौं उपाधि हो।
बंगलादेशको जितमा सागोरिका नायक बनिन्। गत जुलाई १३ मा नेपाल र बंगलादेशबीचको खेलमा नेपाली डिफेन्डर सिम्रन राई र सागोरिकाबीच मैदानमै हात हालाहाल र कपाल लुछालुछ भएको थियो।
सो घटनापछि रेफ्रीले दुवै खेलाडीलाई रातो कार्ड दिएका थिए। रातो कार्ड पाउँदा समान्यतया एक खेलको प्रतिबन्ध लाग्ने थियो।
तर, दक्षिण एसियाली फुटबल महासंघ (साफ) ले यी दुई खेलाडीलाई ३ खेलको प्रतिबन्ध र समान ५ सय अमेरिकी डलर जरिवाना गरेको थियो। प्रतिबन्धसँगै सोमबारको खेलमा दुवै खेलाडीले पुनरागमन गरेका थिए। तर, सागोरिकाले आक्रामक खेल देखाइन्।


