टेबलटेनिसको दक्षिण एसियाली छनोट नेपालमा


काठमाडाैँ। अखिल नेपाल टेबलटेनिस संघको आयोजनामा विश्व टिम टेबलटेनिस च्याम्पियनसिपका लागि दक्षिण एसियाली छनोट प्रतियोगिता बुधबारदेखि हुने भएको छ।

प्रतियोगितामा भुटान र पाकिस्तान बाहेक नेपालसहित ५ राष्ट्र ३४ खेलाडीको सहभागिता रहने प्रतियोगिता निर्देशक समेत आयोजक संघका महासचिव कुवेरप्रकाश सिंहले सोमबार आयोजित पत्रकार सम्मेलनमा जानकारी गराए। भारतबाट सर्वाधिक १० खेलाडी सहभागी हुने छन्।

नेपाल, श्रीलंलका, बंगलादेश र माल्दिभ्सलेबाट समान ८–८ खेलाडीले भाग लिने छन्। नेपालबाट समान ४–४ पुरुष÷महिला खेलाडीले प्रतिस्पर्धा गर्ने छन्।

पुरुषमा संयोग कपाली, रुविन महर्जन, राजीव चिकन्बञ्जार र गनन्जय दाहालले खेल्ने छन्। महिलामा वियंका राई, इभाना थापा, नविता श्रेष्ठ र योङगी पौडेल रहेका छन्। नेपाली टोलीको मुख्य प्रशिक्षकमा मोहनदास बासुकला तथा प्रशिक्षकमा सन्जिवकुमार ढुंगोल र सन्ध्या शाक्य रहेका छन्।

राउन्ड रोविन लिगका आधारमा हुने प्रतियोगितामा पहिलो हुने पुरुष÷महिला टोलीले विश्व टिम टेबलटेनिस च्याम्पियनसिपका लागि छनोट हुने छन्। विश्व टिम टेबलटेनिस च्याम्पियनसिप इङल्यान्डमा सन् २०२६ को सेप्टेम्बरमा हुनेछ।

यदि छनोटमा पहिलो हुने राष्ट्र भारतको उडिसामा अक्टोबर ११ देखि १५ तारिखसम्म हुने एसियन टिम टेबलटेनिस च्याम्पियनसिपमा शीर्ष १२ स्थानमा रहन सफल भएको खण्डमा दक्षिण एसियाली छनोटमा दोश्रो हुने राष्ट्रले पनि इङल्यान्ड यात्राको अवसर पाउने छ।

आयोजक संघका अध्यक्ष वृजेन्द्रबहादुर हमालले यो प्रतियोगिता नेपाली टेबलटेनिसको ठूलो प्रतियोगिता मध्येको एक भएको बताए। प्रतियोगिता सञ्चालन गर्न करिब ३५ लाख ४५ हजार खर्च हुने आयोजकले जनाएको छ। दुईदिने प्रतियोगिताका खेलहरु लैनचौरस्थित राष्ट्रिय टेबलटेनिस प्रशिक्षण केन्द्रमा हुनेछ।


तपाईको प्रतिक्रिया !!!
भर्खरै प्रकाशित
यो साता धेरै पढिएको