काठमाडाैँ। नेपाल अन्तर्राष्ट्रिय तेक्वान्दो महासंघ (आईटीएफ) ले भीमबहादुर तामाङ र सुस्मिता तामाङलाई वर्ष उत्कृष्ट खेलाडी अवार्ड– २०८१ बाट बुधबार सम्मान गरेको छ।
पुरुषमा भीम तथा महिलामा सुस्मिताले वर्ष उत्कृष्ट खेलाडी अवार्डसहित नगद पुरस्कार पाए। भीमले २४ औं राष्ट्रिय आईटीएफ तेक्वान्दो प्रतियोगितामा ३ स्वर्ण जितेका थिए । त्यही प्रतियोगितामा सुस्मिताले २ स्वर्ण जितेकी थिइन्।
महासंघले आफ्नो २८ औं वार्षिकोत्सवमा वर्ष खेलाडीसहित वर्ष उत्कृष्ट प्रशिक्षक, प्रदेश संघ र जिल्ला संघलाई पनि सम्मान गरेको थियो। प्रशिक्षकमा आकाशचन्द्र घर्ती मगर, प्रदेश संघमा गण्डकी र जिल्ला संघमा गुल्मी उत्कृष्ट चुनिए।
सोही अवसरमा गत अगष्ट १९ देखि २६ तारिखसम्म भारतमा भएको दसौं एसियाली आईटीएफ तेक्वान्दो प्रतियोगिताका स्वर्ण विजेता किशोर श्रेष्ठ र राजमन्दिर श्रेष्ठ तथा रजत विजेता चन्द्रबहादुर तामाङ पनि सम्मानित भए।
उनीहरुलाई राष्ट्रिय खेलकुद परिषद् (राखेप) उपाध्यक्ष ध्रुव आचार्य, राखेपका सदस्य अञ्जन धमला, आईटीएफका अध्यक्ष प्रवीणकुमार कार्की, महासचिव घमबहादुर थापालगायतले एक कार्यक्रमबीच सम्मान गरे।
विविध कार्यक्रम गरी वार्षिकोत्सव मनाउने क्रममा यसअघि महासंघले भक्तपुरको कौशल्टारस्थित मानव सेवा आश्रममा आश्रितलाई खाना खुवाएको थियो भने रक्तदान पनि गरेको थियो।


