टेबलटेनिस टोली भारत जाने


काठमाडौं। एसियाली टेबलटेनिस टिम च्याम्पियनसिपको २८औं संस्करणमा सहभागी हुन ६ खेलाडीसहित ८ सदस्यीय नेपाली टोली भारतको उडिसा जाने भएको छ।

अक्टोबर ११ देखि १५ तारिखसम्म उडिसाको भुवनेश्वरस्थित कलिंगा एथलेटिक्स एचपीसी बिल्डिङमा हुने प्रतियोगितामा समान ३÷३ पुरुष÷महिला खेलाडीले नेपालको चुनौती प्रस्तुत गर्ने छन्।

पुरुषमा संयोग कपाली, रुविन महर्जन र राजीव चिकन्बञ्जार तथा महिलामा नवीता श्रेष्ठ, वियंका राई र इभाना थापाले प्रतिस्पर्धा गर्ने छन्। टिममा ५ सिंगल्स स्पर्धामा खेल हुनेछ।

टोली प्रमुखमा अखिल नेपाल टेबलटेनिस संघका महासचिव कुबेरप्रकाश सिंह र प्रशिक्षकमा मोहनदास बासुकला रहेका छन्। प्रतियोगितामा २२ राष्ट्रको सहभागिता रहने प्रशिक्षक बासुकलाले जनाएका छन्।

नेपालमै गत जुलाइमा विश्व टेबलटेनिस च्याम्पियनसिपका लागि भएको दक्षिण एसियाली क्षेत्रीय टेबलटेनिस छनोट प्रतियोगिताका आधारमा खेलाडी छनोट गरिएको टेबलटेनिस संघले जनाएको छ। टोलीलाई राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव टंकलाल घिसिङ, टेबलटेनिस संघका अध्यक्ष वृजेन्द्रबहादुर हमाललगायतले बुधबार एक कार्यक्रमबीच बिदाइ गरे।


तपाईको प्रतिक्रिया !!!
भर्खरै प्रकाशित
यो साता धेरै पढिएको