काठमाडौं। ललितपुरकी खुशी घलान, चितवनकी प्रतिभा श्रेष्ठ र भक्तपुरकी सोया चक्रधरले बागमती प्रदेशस्तरीय खुला तेक्वान्दो लिगमा शनिबार स्वर्ण जितेका छन्।
जिल्ला समन्वय समिति काठमाडौंको संयोजन, बागमती प्रदेश तेक्वान्दो संघको प्राविधिक सहयोग र कागेश्वरी मनोहरा नगरपालिकाको आयोजनामा भइरहेको प्रतियोगिताको सिनियर महिला ४९–५३ केजीको फाइनलमा खुशीले भक्तपुरकी सविना तामाङलाई पराजित गरिन्। सिनियर महिला ५३–५७ केजीमा प्रतिभाले काठमाडौंकी अनुरा श्रेष्ठ तथा ५७–६१ केजीमा सोयाले काभ्रेकी एलिना बन्मालीलाई फाइनलमा हराए।
थलीस्थित आयोजक कागेश्वरी मनोहरा नगरपालिको हातामा भइरहेको प्रतियोगिताको जुनियर पुरुष ४१–४४ केजीमा काठमाडौंका राहुल हाङ लिम्बू र महिला ३१–३४ केजीमा काठमाडौंकी सुप्रिया जोशीले स्वर्ण जिते। फाइनलमा राहुलले काठमाडौंका ललितबहादुर राणा तथा सुप्रियाले काठमाडौंकै रोनिशा गौतमलाई पाखा लगाए।
जुनियर पुरुष ४४–४७ केजीमा नुवाकोटका सुदिप तामाङले काठमाडौंका रिडम बिसी तथा जुनियर महिला ३४–३७ केजीमा काठमाडौंकी जोबियानी तामाङले काठमाडौंकै साइना तामाङलाई पन्छ्याउदै पहिलो भए।
प्रतियोगिताको कागेश्वरी मनोहरा नगरपालिका मेयर उपेन्द्र कार्कीले एक कार्यक्रमबीच उद्घाटन गरे। सो अवसरमा जिल्ला समन्वय समितिका प्रमुख सन्तोष बुढाथोकी, बागमती प्रदेश तेक्वान्दो संघका अध्यक्ष केशव पुरीलगायतको उपस्थिति रहेको थियो। प्रतियोगितामा २ सय २७ खेलाडी सहभागी छन्। सिनियर÷जुनियर पुरुषमा समान ५–५ तथा सिनियर÷जुनियर महिलामा समान ५–५ गरी जम्मा २० स्पर्धामा प्रतिस्पर्धा भइरहेको छ।
लिगको यो दोश्रो संस्करणको पहिलो प्रतियोगिता हो भने समग्रमा पाँचौं प्रतियोगिता हो। यसअघि लिगको पहिलो संस्करणमा ४ प्रतियोगिता भएका थिए। लिगको हरेक संस्करणमा एक वर्षको अवधिमा ३ महिनाको अन्तरालमा एउटा प्रतियोगिता हुने गरेको छ। त्यसअन्तर्गत दोश्रो संस्करणमा पनि चार प्रतियोगिता हुनेछ।
लिगमा हरेक तौलसमूहमा पहिलो हुनेलाई १०, दोश्रोलाई ७ र तेश्रोलाई ३ अंक प्रदान गरिने छ। चार वटा लिग सम्पन्न भएपछि खेलाडीको प्रदर्शनका आधारमा एक उत्कृष्ट पुरुष÷महिला खेलाडीलाई मोटरसाइकल प्रदान गरिने छ। यो लिगको हरेक स्पर्धामा शीर्ष तीन स्थान हासिल गर्ने उपत्यका बाहिराका खेलाडीलाई आगामी लिगमा खाना, बसोवास र यातायातको सुविधा पनि दिइने छ। मोटरसाइकल पुरस्कार र खेलाडीको सुविधाको व्यवस्थापन जिल्ला समन्वय समिति काठमाडौंले गर्ने छ। प्रदर्शनलाई नै मध्यनजर गरी दोश्रो संस्करणको चौथो लिगको समाप्तिमा हरेक तौलसमूहमा शीर्ष तीन स्थानमा रहने खेलाडीलाई क्रमशः १५ हजार, १० हजार ५ हजार नगद पुरस्कारबाट पुरस्कृत गरिने छ। प्रतियोगिता शनिबार सम्पन्न हुनेछ।


