हिमालयन च्यालेन्जर्स चेसः शुभांगको लगातार दोस्रो जित


काठमाडौं। रातो बंगला स्कुलका शुभांग प्रधानले हिमालयन च्यालेन्जर्स फिडे रेटिङ क्लासिकल चेस प्रतियोगितामा लगातार दोस्रो जित हात पारेका छन्। उनले दोस्रो दिन सोमबार अभिक रेग्मीलाई पराजित गर्दै जित यात्रा कायम राखेका हुन्।

आठ वर्षीय शुभांग क्लासिकल, र्यापिड र ब्लिज गरी चेसका तीनै विधामा फिडे रेटिङ प्राप्त गरेका सबभन्दा कान्छो खेलाडी हुन्। १४९१ रेटेड उनले प्रतिस्पर्धात्मक खेलमा सिद्धार्थ वनस्थलीका अभिकविरुद्ध सफलता हात पारेका हुन्। पहिलो दिन अभियान राईलाई पराजित गरेका शुभांगले तेस्रो चरणमा मंगलबार सेन्ट जेभियर्स कलेजका अभिक शाहविरुद्ध खेल्ने छन्।

हिमालयन चेस एकेडेमीद्वारा काठमाडौं जिल्ला चेस संघसँग सहकार्य गर्दै आयोजित हिमालयन च्यालेन्जर्समा दोस्रो दिन शुभांगसहित शीर्ष वरीयताका अभिक शाह, सजल न्यौपाने, सात्विकमान तुलाधर, हार्दिक पन्त, लियोन महर्जन र निहाना श्रेष्ठले पनि जित हात पारे। यी सातै खेलाडीले लगातार दुई खेल जितेका हुन्। प्रत्येक जितमा ३ अंक दिइएको छ र त्यसअनुसार यी सात खेलाडीले ६–६ अंक बनाएका छन्।

दोस्रो चरणमा अभिकले आशिर्वाद थापा, सजलले प्रवीर केसी, हार्दिकले उजिभानी कँडेल, लियोनले अनमोल राई र निहानाले अरिज राईलाई हराएका हुन्। मार्भलस इंग्लिस बोर्डिङी निहाना प्रतियोगितामा लगातार दुई खेल जित्ने एक्ली महिला खेलाडी हुन्। त्यस्तै, ईश्वर लामा, रेयांश महर्जन, अग्रता आचार्य, रियान श्रेष्ठ, निवा राई, रेयांश खनाल, विमश लोहनी र नायुमा मगरले पनि दोस्रो चरणको खेलमा जित हात पारे।

स्वीस प्रणालीको आधारमा नौ चरणमा आयोजित प्रतियोगितामा हरेक दिन एक चरणको खेल हुनेछ। काठमाडौं ११ थापाथलीस्थित हिमालयन चेस हलमा सञ्चालन भइरहेको प्रतियोगितामा २८ वटा स्कुल र कलेजका ६ महिला र २४ पुरुष गरी ३० जना खेलाडी सहभागि छन्।

एकेडेमीले युवा खेलाडी उत्पादन गर्ने उद्देश्यले काठमाडौं जिल्ला चेस संघसँग सहकार्य गर्दै १८ वर्षमुनिका खेलाडीका लागि क्लासिकल चेसको प्रतियोगिता आयोजना गरेको हो। प्रत्येक चरणमा खेलाडीलाई ९० मिनेट र ३० मिनेटको इन्क्रिमेन्ट समय दिइनेछ।

अचेल छोटो अवधिका र्यापिड र ब्लिज चल्तीमा रहेपनि खेलाडीका स्तरोन्नतिका लागि क्लासिकल चेस उपयुक्त मानिन्छ। त्यसैले दुर्लभ हुँदै गएको क्लासिकल चेसको प्रतियोगिता युवा खेलाडीलाई अवसर दिन आयोजना गरिएको बताइएको छ। पूर्वराष्ट्रिय च्याम्पियन केशव श्रेष्ठ र फिडे मास्टर रिजेन्द्र राजभण्डारीबाट प्रत्येक राउन्डको समाप्तिपछि खेलको विश्लेषण गर्ने व्यवस्था गरिएको छ।

हिमालयन चेस एकेडेमीले एसईई कप, हिमालयन १०० फर गिनिज वल्र्ड रेकर्ड्स, हिमालयन तीज चेस टोर्नी, प्यट्रिओटिक पन च्याम्पियनसिप, हिमालयन डुओ, हिमालयन ब्लिज कप, देशकै पहिलो फ्रिस्टाइल चेस प्रतियोगिता हिमालयन फ्रिस्टाइल च्याम्पियनसिप, हिमालयन १०० एक्स टु, हिमालयन क्वीन्स ग्याम्बिट र एचसीए युथ कप गरी दस प्रतियोगिता सफलतापूर्वक आयोजना गरिसकेको छ। त्यसैले उसको ११ औं प्रतियोगिता हो– हिमालयन च्यालेन्जर्स क्लासिकल चेस।

चेसलाई प्रवद्र्धन र विकास गर्ने उद्देष्यले २०८० साल चैत १ गते उद्घाटन गरिएको स्थापित हिमालयन चेस एकेडेमीले फ्रेसर, बिगिनर्स, एड्भान्स बिगिनर्स, इन्टरमिडियट, एड्भान्स र इलिट प्रोग्राम गरी ६ वटा कोर्समा करिब २ सयलाई थापाथलीस्थित आफ्नै चेस हल र भक्तपुर शाखामा प्रशिक्षण दिइसकेको छ। भच्र्युअल रुपमा अनलाइन कक्षा नियमित भइरहेको छ। स्कुल र समुदायमा कार्याशाला तथा प्रशिक्षण सञ्चालन गर्दै आएको छ। उसले कमनवेल्थ च्याम्पियन भारतीय इन्टरनेसनल मास्टर (आईएम) अतनु लहिरी ल्याएर काठमाडौंमा विशेष प्रशिक्षण पनि दिएको थियो।


तपाईको प्रतिक्रिया !!!
भर्खरै प्रकाशित
यो साता धेरै पढिएको