श्रीलंकाका वाकिल शमिलले जिते पीएसए स्याटेलाइट टुरको उपाधि

काठमाडौँ। प्रोफेसनल स्क्वास एसोसिएसन (पीएसए) स्याटेलाइट टुर २०२६ को उपाधि श्रीलंकाका वाकिल एम शमिलले जितेका छन्। नेपाल स्क्वास र्याकेट्स संघको आयोजनामा सातदोबाटोस्थित स्क्वास कभर्ड हलमा सम्पन्न फाइनल खेलमा वाकिलले बेलायतका अआइओन शार्पलाई ५-३ काे प्रतिस्पर्धात्मक सेटमा पराजित गर्दै उपाधि जितेका हुन्। वाकिलले पहिलाे सेट ६-११ ले पराजित भएका थिए। दाेस्राे सेट १२-१० ले जित्दा तेस्राे सेट ८-११ले पराजित भए। फेरि उत्कृष्ट पुनरागमन गर्दै वाकिलले चाैँथाे सेट ११-६ र पाँचौं तथा अन्तिम सेट ११-४ ले जिते।

फाइनल खेल अघि तेस्रो स्थानका लागि भएको खेलमा श्रीलंकाका श्रीलंकाका नेभिन्दु लक्मनले मलेसियाका नितीश मणिमरणलाई ३–१ को सेटमा हराए। नेभिन्दुले ८–११, ११–५, १६–१४ र ११–६ को सेटमा पराजित गर्दै तेस्रो भए। पराजित नितीश चौँथो भए। आज बिहान भएको पाँचौं स्थानको र्‍याङ्किङ खेलमा नेपालका अराहान्त केशर सिंह विजेता घोषित भए। उनका प्रतिस्पर्धी दीपक थापा चोटका कारण खेल पूरा गर्न नसकेपछि अरहन्तलाई विजेता घोषित गरिएको हो। दीपक छैटौं भएका छन्।

यस्तै सातौँ स्थानको लागि भएको खेलमा मलेसियाका अविनाश अनबरासुले बंगलादेशका हसन अबिदलाई ३–० को सोझो सेटमा पराजित गरे। उनले ११–६, ११–९ र ११–४ को जित निकाल्दै सातौँ भए। पराजित हसन आठौँ भए। नवौँ स्थानको लागि भएको खेलमा नेपालका उदीयमान खेलाडी पासाङ भ्लोनले इटलीका रेन्जो अन्डोर्नोलाई ३–० ले हराए। पासाङले ११–५, १२–१० र ११–६ को सेटमा पराजित गरे। रेन्जो दशौँ भए।

११औँ स्थानका लागि भएको खेलमा भारतका अनमय रुंगटाले बंगलादेशका अब्दुल ए. सिक्दर सायेमलाई ३–२ को रोमाञ्चक खेलमा पराजित गरे। उनले ८–११, ११–७, ७–११, ११–८ र ११–९ को सेटमा जित हासिल गरे। पराजित अब्दुल १२औं भए। त्यस्तै, १३औँ स्थानको खेलमा नेपालका सरोज तामाङले उत्कृष्ट पुनरागमन गर्दै बंगलादेशका बरुआ दोर्जेलाई ३–१ ले पराजित गरे। पहिलो सेट १५–१७ ले गुमाएका सरोजले त्यसपछि लगातार तीन सेट ११–५, ११–८ र ११–५ ले जित्दै खेल आफ्नो पक्षमा पारे। बरुआ १४औं भए।

यसैगरी १५औं स्थानको लागि भएकाे खेलमा नेपालका नैनाबहादुर मगरले राकेश परियारलाई ३-० काे साेझाे सेटमा हराए। पराजित राकेश १६औं भए। पहिलो पटक नेपालमा आयोजना भएको प्रतियोगितामा नेपालसहित भारत, बंगलादेश, श्रीलंका, मलेसिया र बेलायतका १६ खेलाडी सहभागी भएका थिए। प्रतियोगिताको कुल पुरस्कार राशि १ हजार अमेरिकी डलर रहेको थियो। उपाधि विजेता श्रीलंकाका वाकिल एम शमिलले ४०० र उपविजेता बनेका बेलायतका आइओन शार्पले २०० डलर प्राप्त गरे।

यसैगरी सेमिफाइनलमा पुगेका मलेसियाका नितीश मणिमरणलाई र श्रीलंकाका नेभिन्दु लक्मनले जनही १०० अमेरिकी डलर प्राप्त गरेका छन्। त्यस्तै क्वार्टरफाइनलमा पुगेका नेपालका अराहान्त केशर सिंह, दीपक थापा, मलेसियाका अविनाश अनबरासु र बंगलादेशका हसन अबिदले जनही ५० अमेरिकी डलर पुरस्कारसहित ट्रफी र प्रमाणपत्र प्राप्त गरेका संघका उपाध्यक्ष एवं प्रतियोगिताका निर्देशक रुपक दास ताम्राकारले जानकारी दिए।

प्रतियोगिताको समापन कार्यक्रममा बोल्दै राष्ट्रिय खेलकुद परिषद् (राखेप)का सदस्य सचिव रामचरित्र मेहेताले संघले अन्तर्राष्ट्रिय प्रतियोगिताहरू आयाेजना गर्न र यसमा सरकारले पनि सहयोग गर्दै जाने बताए। प्रतियोगिताले नेपाली खेलाडीलाई अन्तर्राष्ट्रिय खेलाडीहरूसँग प्रतिस्पर्धा गर्ने अवसर प्रदान गर्नुका साथै नेपाललाई अन्तर्राष्ट्रिय स्क्वासको क्षेत्रमा थप स्थापित गर्न सहयोग पुग्ने विश्वास गरिएको नेपाल स्क्वास र्याकेट्स संघका अध्यक्ष धुव्रबहादुर गुरुङले बताए।


तपाईको प्रतिक्रिया !!!
भर्खरै प्रकाशित
यो साता धेरै पढिएको