काठमाडौं। राष्ट्रिय लिगमा स्थान बनाएको चित्लाङ एफसी र प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स प्रालिबीच आइतबार एक वर्षको प्रायोजन सम्झौता भएको छ। सम्झौतामा क्लबका अध्यक्ष सुगन तण्डुकार र प्रभु लाइफ इन्स्योरेन्सका सिइओ सन्तोष प्रसाईले हस्ताक्षर गरे।
सम्झौताअनुसार प्रभु लाइफ इन्स्योरेन्सले चित्लाङ एफसीलाई आर्थिक सहयोग गर्नेछ भने क्लबले आफ्ना गतिविधिहरूमार्फत कम्पनीको प्रवर्धन गर्नेछ। सिइओ प्रसाईले नेपाली फुटबल र राष्ट्रिय लिग टोलीसँगको सहकार्यमा उत्साह व्यक्त गर्दै आगामी दिनमा निरन्तरता दिने बताए।
चित्लाङ एफसी अध्यक्ष तण्डुकारले पनि नेपाली फुटबलमा क्लबको उद्देश्य साकार पार्न प्रभु लाइफ इन्स्योरेन्सको साथले थप ऊर्जा दिएको बताए। उनले भने, ‘फुटबलमार्फत देशको प्रतिष्ठा वृद्धि गर्ने हाम्रो अभियानमा यो सहकार्य महत्वपूर्ण छ।’


