काठमाडौं। प्रथम केएमसी २९ वार्ड चेयरम्यान कप ओपन फिडे र्यापिड रेटिङ चेस च्याम्पियनसिपमा नेपाली खेलाडीहरू उपाधि जित्न असफल भएका छन्। काठमाडौंमा शनिबार सम्पन्न प्रतियोगितामा भारतका १९०९ रेटेड किसन कुमारले उपाधि हात पारेका हुन्।
अनामनगरस्थित काठमाडौँ महानगरपालिका वडा नं. २९ मा सम्पन्न प्रतियोगितामा किसनले ८ अंक तथा ५३.५ प्रोग्रेसिभ प्वाइन्टसहित उत्कृष्ट टाइब्रेकका आधारमा च्याम्पियन बने। प्रतियोगिताको अन्तिम नवौं चरणअघि ६ खेलाडीको समान ७ अंक रहेको थियो।
नेपालका शीर्ष खेलाडी एफएम क्षितिज भण्डारीले समान ८ अंक जोडे पनि टाइब्रेकमा पछि पर्दै दोस्रो स्थानमा चित्त बुझाए। नेपालकै आशीष फूँयाल तृतीय भए।
३ लाख ३७ हजार नगद पुरस्कार राशी रहेको प्रतियोगितामा शीर्ष स्थान हासिल गर्ने किसन कुमारले ३५ हजार नगद प्राप्त गरे भने क्षितिज भण्डारीले ३० हजार र आशीष फूँयालले २५ हजार नगद हात पारे।
प्रतियोगितामा महिला, सिनियर, युवा तथा विभिन्न रेटिङ विधातर्फ उत्कृष्ट खेलाडीहरूलाई पनि पुरस्कार प्रदान गरिएको थियो। कूल ४२ खेलाडीले नगद पुरस्कार बाँडेका थिए।
बागमती प्रदेश सभा सदस्य दिपेन्द्र श्रेष्ठको प्रमुख आतिथ्यतामा सम्पन्न पुरस्कार वितरण समारोहमा काठमाडौँ महानगरपालिका वडा नं. २९ का अध्यक्ष कुश ढकालसहित विभिन्न विशिष्ट व्यक्तित्वहरूको उपस्थिति रहेको थियो।


