काठमाडौं। इंग्लिस प्रिमियर लिग अन्तर्गत सम्पन्न खेलमा म्यानचेस्टर सिटीले वुल्भरह्याम्प्टन वान्डरर्सलाई २–० ले पराजित गरेको छ। घरेलु मैदानमा भएको खेलमा सिटीले पहिलो हाफमै दुई गोल गर्दै जितको आधार बनाएको हो।
खेलको छैटौँ मिनेटमा ओमार मार्मुशले गोल गर्दै सिटीलाई अग्रता दिलाए। त्यसपछि पहिलो हाफको इन्जुरी समयमा एन्टोइन सेमेन्योले गोल थप्दै टोलीलाई २–० को मजबुत स्थितिमा पुर्याए।
दोस्रो हाफमा वुल्भ्सले केही अवसर सिर्जना गरे पनि गोल गर्न असफल रह्यो। सिटीका गोलकिपर जियानलुइजी डोनारुम्माले महत्वपूर्ण बचाउ गर्दै क्लिन सिट जोगाए।
यस जितसँगै म्यानचेस्टर सिटीले २३ खेलबाट ४६ अंक जोड्दै इंग्लिस प्रिमियर लिगको दोस्रो स्थानमा आफूलाई कायम राखेको छ।


