काठमाडौं । देशमै पहिलोपल्ट आयोजित चेस पजल सोल्भिङ कन्टेस्ट आइतबार सम्पन्न भएको छ। हिमालयन चेस एकेडेमीद्वारा आयोजित प्रतियोगितामा दुई क्याटगोरीमा ६ महिला र १५ पुरुष गरी कुल २१ खेलाडीले प्रतिस्पर्धा गरे।
एकेडेमीले वल्र्ड फेडेरेसन फर चेस कम्पोजिसन (डब्लुएफसीसी) सँगको सहकार्यमा आयोजित रेटेड प्रतियोगितामा निक्कै अनुभवी खेलाडीले मात्रै अवसर पाउने क्याटगोरी १ मा कसैले नाम दर्ता गरेन। कम अनुभवीको क्याटगोरी २ तथा १३ वर्षमुनिका खेलाडीको क्याटगोरी ३ मा चार घन्टा बसेर डब्लुएफसीसीले पठाएका पजल सोल्भ गरेका थिए। क्याटगोरी २ मा १२ र क्याटगोरी ३ मा ६ वटा पजल सोल्भ गर्न दिइएको थियो।
क्याटगोरी २ मा ११ र क्याटगोरी ३ मा १० खेलाडीले पजल सोल्भ गरे। ६ देखि २४ वर्ष उमेरका उनीहरू ११ वटा स्कुल र कलेजबाट सहभागि भएका हुन्। क्याटगोरी २ का पजल सोल्भरले डब्लुएफसीसीको रेटिङ पाउनेछन्। एकेडेमीका निर्देशक याईशाष यासिर खम्बूका अनुसार सोल्भ गरेको पेपर पठाएपछि डब्लुएफसीसीले जाँच गरेपछि यही हप्ता नतिजा सार्वजनिक गरिनेछ। चेस पजल सोल्भिङले खेलाडीको विश्लेषणलाई सहज बनाउँदै क्षमता अभिबृद्धि हुने गर्दछ।
डब्लुएफसीसीसँग सहकार्य गर्दै इन्टरनेसनल सोल्भिङ कन्टेस्ट (आईएससी) २०२६ को एउटा प्रतियोगिताको रुपमा हिमालयन चेस एकेडेमीले देशमै पहिलोपल्ट काठमाडौंमा पजल सोल्भिङ कन्टेस्ट आयोजना गरेको हो। आईएससीको २२औं संस्करणमा २७ देशका काठमाडौंसहित ६५ सहरमा एकसाथ आइतबार (२५ जनवरी) नौ सय बढीले प्रतिस्पर्धा गर्दैछन्। हरेक सहरमा उत्कृष्ट नतिजा ल्याउने खेलाडीले जर्मनीको मगडेबर्गमा २०२६ अगस्ट ८ देखि १५ सम्म हुने ४९ औं वल्र्ड चेस सोल्भिङ च्याम्पियनसिपमा सहभागि हुन पाउने छन्।
२०८० साल चैत १ गते औपचारिक उद्घाटनसँगै व्यवस्थित रुपमा सञ्चालित हिमालयन चेस एकेडेमीले आयोजना गर्न लागेको १२ औं प्रतियोगिता पनि हो– पजल सोल्भिङ कन्टेस्ट। उसले यसअघि ब्ल्ट्जि, र्यापिड, क्लासिकल र फ्रिस्टाइल चेसका ११ प्रतियोगिता सफलतापूर्वक आयोजना गरिसकेको छ। एकेडेमीले थापाथली कौशलटारमा नियमित प्रशिक्षण गराउँदै आएको छ। उसले अनलाइन, स्कुल र समुदायमा पनि वर्कशप र प्रशिक्षण सञ्चालन गरिरहेको छ।


